प्रमिला चौधरी
नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चालन गरेको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ बाँकेमा आइतबार औपचारिक रूपमा समुद्घाटन गरी शुभारम्भ गरिएको छ। पार्टीको संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, जनजीविकाका सवालमा जनमत निर्माण तथा आगामी निर्वाचनको तयारीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानको नेपालगन्जमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि चक्रपाणी खनाल (बलदेव)ले प्रशिक्षणसहितको मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जागरण अभियानको उद्देश्य र सान्दर्भिकताबारे आफ्ना धारणा राख्नुभएको थियो । उहाँले अभियानलाई पार्टीका गतिविधि जनतामाझ पुर्याउने, संगठनलाई तल्लो तहसम्म व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आधार तयार गर्ने माध्यमका रूपमा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) ले पनि प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अभियानका सन्दर्भमा आफ्ना विचार राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला इन्चार्ज अकल बम र प्रदेश अध्यक्ष अब्दुलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । नेताहरूले अभियानलाई जिल्लाका सबै स्थानीय तह र वडासम्म विस्तार गर्ने सन्दर्भमा आफ्ना धारणा राख्नुभएको थियो ।।
पार्टीले सार्वजनिक गरेको अभियानसम्बन्धी विवरणअनुसार, राष्ट्रिय जागरण अभियानको मूल उद्देश्य राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, विधिको शासन, सामाजिक न्याय र जनजीविकाका सवालमा जनमत निर्माण गर्नु रहेको छ । यसका साथै पार्टीको राजनीतिक तथा वैचारिक दिशा, संगठनात्मक संरचना, कार्यशैली र आचरणबारे समीक्षा गर्दै संगठनलाई थप व्यवस्थित बनाउने लक्ष्यसमेत अभियानले लिएको छ ।
अभियानका क्रममा जनताका दैनिक समस्या र गुनासो संकलन गर्ने, तिनको अभिलेख राख्ने तथा समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना अघि सारिएको छ । पार्टीले जनताका पक्षमा गरेका कामको प्रचारप्रसार गर्न नसकिएको अवस्थाबारे आत्मसमीक्षा गर्ने र जनतासँग प्रत्यक्ष संवाद बढाउने विषयलाई पनि अभियानको कार्यसूचीमा समेटेको जनाएको छ ।
अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण तथा विस्तार, निष्क्रिय सदस्यलाई पुनः सक्रिय बनाउने, स्थानीय तहमा संगठनात्मक संरचना सुदृढ गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरूको समायोजन गर्ने र पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम राखिएका छन् । पार्टीको विचार र कार्यदिशाबारे जनस्तरमा छलफल गर्दै स्थानीय तहबाट सुझाव संकलन गरी माथिल्लो तहसम्म पुर्याउने योजना पनि अभियानमा समावेश गरिएको छ ।
बाँके जिल्लामा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला इन्चार्ज अकल बमले सबै पालिकाका वडामा केन्द्रीय सदस्यहरूको नेतृत्वमा अभियान अघि बढाउने गरी जिम्मेवारी बाँडफाँट गरेको बताउनु भयो । यस व्यवस्थाले केन्द्रीय नेतृत्वलाई स्थानीय तहसम्म परिचालन गर्दै जिल्लाका विभिन्न क्षेत्रमा संगठनात्मक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ । अभियानका क्रममा स्थानीय, प्रदेश र केन्द्रीय तहका पार्टी संरचनाबीच समन्वय गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
पार्टीले अभियानलाई विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गर्ने योजना बनाएको छ । प्रकाशित विवरणअनुसार पहिलो चरणमा तयारी तथा अभिमुखीकरण, दोस्रो चरणमा जनसम्पर्क तथा संगठन सुदृढीकरण र तेस्रो चरणमा समीक्षा तथा प्रतिवेदन निर्माणका गतिविधि सञ्चालन गरिनेछन् । अभियान मंसिर २५ गतेसम्म सञ्चालन गर्ने योजना रहेको विवरणमा उल्लेख छ ।
अभियानको अर्को महत्त्वपूर्ण पक्ष आगामी निर्वाचनको तयारी रहेको छ । स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको प्रभाव, जनआधार र राजनीतिक अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने, जनभेला र अन्तरक्रिया सञ्चालन गर्ने तथा जनताका सुझावका आधारमा आगामी कार्यदिशा तय गर्ने योजना पार्टीले अघि सारेको छ । यसका साथै पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउने र स्थानीय तहमा देखिएका समस्या पहिचान गर्ने कामसमेत अभियानका क्रममा गरिने जनाइएको छ ।
पार्टीले बाढीपहिरो तथा अन्य विपतबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका विषयलाई पनि अभियानको कार्यसूचीमा समावेश गरेको छ । विपद् प्रभावित परिवारको अवस्था पहिचान गर्ने, आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा दीर्घकालीन पुनःस्थापनाका लागि पहल गर्ने योजना सार्वजनिक विवरणमा उल्लेख छ । त्यसैगरी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सुशासन, महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, असुरक्षा तथा नागरिकका दैनिक समस्याबारे जनचेतना र जनसंवादका कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
अभियानअन्तर्गत पार्टीका विभिन्न तहका समितिहरूलाई जिम्मेवारीअनुसार परिचालन गर्ने, जनताको माग र गुनासा संकलन गर्ने तथा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने कार्यक्रमसमेत राखिएको छ । पार्टीले संगठनात्मक गतिविधिलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले आर्थिक व्यवस्थापनलाई आधिकारिक बैंकिङ माध्यमसँग जोड्ने विषयलाई पनि आफ्नो कार्यसूचीमा समावेश गरेको छ ।
राष्ट्रिय जागरण अभियानको समुद्घाटनसँगै नेपाली कम्युनिस्ट पार्टी बाँकेले जिल्लाका सबै पालिका र वडासम्म अभियान विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय सदस्यहरूको नेतृत्वमा सञ्चालन गरिने अभियानले संगठनात्मक परिचालनसँगै स्थानीय नागरिकका समस्या र जनजीविकाका सवाललाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय आगामी दिनमा यसको कार्यान्वयनबाट स्पष्ट हुनेछ ।
जिल्ला संयोजक दीपक जीएमको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा स्थायी समिति सदस्य महेश्वर गहतराज ‘अथक’, जिल्ला इन्चार्ज अकल बम, प्रदेश अध्यक्ष अब्दुललगायत केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।


