अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने : मनसुन बाहिरिने संकेत

  ।   २०७७ आश्विन १२, सोमबार ११:०४

काठमाण्डौ । अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उहाँले बताउनुभयो । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।

लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । अबको केही दिनमा पानी नपरे मनसुन बाहिरिने संकेतको रुपमा मान्न सकिने पनि उहाँले बताउनुभयो । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँहरुमा आंशिक बद्लीको मात्रै सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँले बताउनुभयो ।

Next Post

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने अध्यादेश जारी

२०७७ आश्विन १२, सोमबार ११:०४
राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमण विरूद्ध कडा सजाय प्रस्ताव गरिएका अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन वटा अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक […]

सम्बन्धित शीर्षक