बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।
बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले पीडितको आवश्यकता र अवस्थाअनुसार सेवा उपलब्ध गराउने, घटनाको व्यवस्थापन, सम्बन्धित निकायमा सिफारिस तथा सेवा प्राप्त गरेपछिको अवस्थाबारे निरन्तर जानकारी लिने प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षण सुदृढीकरणमा बाल अधिकार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले बाल अधिकार समिति र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबीच नजिकको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिका, बाल अधिकार समिति, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र बाँके युनेस्को क्लबबीच प्रभावकारी सहकार्य भएमा बाल संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी प्रमुख सपना बाठा मगरले केन्द्रमा दर्ता भएका घटनाको अवस्था, घटनासम्बन्धी व्यवस्थापन प्रक्रिया, केन्द्रसँग सम्बन्धित तथ्याङ्क तथा हाल प्रदान भइरहेको सेवाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी दिनमा थप सुधार गर्नुपर्ने क्षेत्रबारे समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पीडित तथा प्रभावित व्यक्तिले समयमै, गोप्य, सहज र सम्मानजनक ढंगबाट आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । विशेषगरी बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य जोखिममा रहेका समूहलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई थप संवेदनशील र प्रभावकारी बनाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक नग्मा सिद्दिकीले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक रामकली थारुको सहयोग रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहमा थप समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धताका साथ पीडित तथा जोखिममा रहेका बालबालिकाले आवश्यक सहयोग र सेवा सुरक्षित, सम्मानजनक तथा सहज रूपमा प्राप्त गर्न सक्ने संरक्षण तथा सहयोग प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।


