स्याङ्जा । स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधामको कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षकी आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो
सबैजना एकै घरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले सबै जनालाई दागबत्ती दिनुभयो । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षकी मनिषा नेपालीको पोखरामा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मनिषाको सबै उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । हिजो बिहान स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका ८ जनासहित ९ जनाको ज्यान गएको हो । उज्यालो अनलाइन




