नेपालगन्ज उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व: सहमति र सहकार्यको नयाँ सन्देश

  ।   २०८३ श्रावण २२, शुक्रबार २०:५१

सबिता चन्द
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघमा यसपटक सर्वसम्मत नेतृत्व चयन भएको छ । विगतमा विभिन्न प्यानलबीच प्रतिस्पर्धात्मक निर्वाचन हुँदै आएको संघमा यस वर्ष सहमति र सहकार्यको वातावरण निर्माण गर्दै चिरञ्जीवी ओलीको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

शुक्रबार संघकै सभाकक्षमा आयोजित कार्यक्रममा पूर्वअध्यक्षहरूको पहल र उद्योगी–व्यवसायीबीचको व्यापक छलफलपछि अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २१ सदस्यीय कार्यसमिति औपचारिक रूपमा सार्वजनिक गरिएको छ । यससँगै नेपालगन्जको निजी क्षेत्रमा एकता र संस्थागत सुदृढीकरणको नयाँ अभ्यास प्रारम्भ भएको व्यवसायीहरूले बताएका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको आर्थिक, औद्योगिक तथा व्यावसायिक गतिविधिको महत्वपूर्ण नेतृत्वदायी संस्था हो । स्थानीय उद्योग, व्यापार, लगानी, उद्यमशीलता र निजी क्षेत्रका मुद्दाहरूमा संघले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यही कारण संघको नेतृत्व चयनलाई उद्योगी, व्यवसायीहरूले चासोका साथ हेर्ने गरेका छन् ।

विगतका निर्वाचनहरूमा ‘समावेशी’ र ‘प्रजातान्त्रिक’ नामका अलग–अलग प्यानलबीच प्रतिस्पर्धा हुने गरेको थियो। प्यानलगत प्रतिस्पर्धाले संस्थामा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाए पनि कहिलेकाहीँ व्यवसायीबीच विभाजन र ध्रुवीकरणको अवस्था समेत सिर्जना हुने गरेको थियो। यसपटक भने सबै पक्षले साझा समझदारी कायम गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नु आफैंमा महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।सर्वसम्मत रूपमा चयन भएका अध्यक्ष चिरञ्जीवी ओलीसँगै कमलकुमार कार्की उपाध्यक्ष (उद्योग), विष्णुप्रसाद श्रेष्ठ उपाध्यक्ष (वाणिज्य), रुपा ओझा सानु उपाध्यक्ष (महिला), विष्णु श्रेष्ठ महासचिव, शिवप्रसाद दाहाल उपमहासचिव तथा टीकामणि उपाध्याय कोषाध्यक्ष चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सन्तोष पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, सैयद नहाँगीर मुलसमान, अतुल गुप्ता, शरद अधिकारी, आदित्य गुप्ता, चाँदबाबु अन्सारी र नगेन्द्र शाही रहनुभएको छ।

एशोसियट सदस्यतर्फ अब्दुल वाहिद अन्सारी र राजीव तलंगा तथा सम्बद्ध सदस्यतर्फ फडाधर भण्डारी र सुरेश जंग बञ्जरा चयन हुनुभएको छ।

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज उद्योग वाणिज्य संघलाई उद्योगी–व्यवसायीको नेतृत्वदायी संस्था बनाउने उद्देश्यका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिएको बताउनुभयो । उहाँले संस्थाको हितलाई केन्द्रमा राखेर सबै पक्षले देखाएको परिपक्वता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले सम्पूर्ण उद्योगी–व्यवसायीको साझा भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योग, व्यापार, लगानी, बजार व्यवस्थापन, उद्यम प्रवर्द्धन तथा निजी क्षेत्रका समस्यालाई साझा मुद्दाका रूपमा उठाउँदै संस्थालाई अझ प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

नेपालगन्ज अहिले आर्थिक गतिविधि, सीमावर्ती व्यापार, उद्योग विस्तार र लगानीको दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यस्ता समयमा उद्योगी–व्यवसायीको साझा संस्था बलियो हुनु आवश्यक रहेको व्यवसायीहरूको धारणा छ । सर्वसम्मत नेतृत्व चयनले निजी क्षेत्रभित्र आपसी विश्वास, सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।संघको नयाँ कार्यसमितिले अब उद्योगी–व्यवसायीका साझा हित, व्यावसायिक वातावरण सुधार, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरिएको छ ।