खेलमार्फत भविष्य निर्माणको अभियान : माननीय अम्बिका काफ्लेको प्रतिबद्धता

  ।   २०८३ जेष्ठ १९, मंगलवार १७:३८

गुडन्युज सम्बाददाता

नेपालगञ्ज । युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित “दोस्रो माननीय कप क्रिकेट प्रतियोगिता २०८३” को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गमा अघि बढाउने सन्देश दिएको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले खेलकुद क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै राष्ट्रिय खेलाडी जन्मिन सक्ने वातावरण निर्माण गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले खेलकुदलाई केवल मनोरञ्जन नभई युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै आगामी बजेटमा खेलकुद क्षेत्रका लागि विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको उक्त घोषणा खेलप्रेमी र खेलाडीहरूका लागि उत्साहजनक सन्देश बनेको छ।कार्यक्रममा समाजसेवी दिला शाहले खेलाडीहरूको उज्ज्वल भविष्यप्रति चासो राख्दै यस्ता कार्यक्रमले युवाहरूमा अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वडा सदस्य रुमिता श्रेष्ठले खेलाडीहरूको भविष्यप्रति चिन्ता र जिम्मेवारीबोधका साथ प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै खेल क्षेत्रको उन्नयनमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी तथा समाजसेवी शिवकुमार वर्माले खेलकुद विकासको यात्रामा आफूहरूले पनि ‘इटा थप्ने’ काम गरेको बताउँदै खेल क्षेत्रलाई अझ सशक्त बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँहरूले खेलाडीहरूको क्षमता अभिवृद्धि र अवसर सिर्जनाका लागि राज्य, समाज र सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, स्वास्थ्य चेतना र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। साथै प्रतियोगिताको सफल व्यवस्थापनमा खटिएका आयोजक, स्वयंसेवक तथा सहयोगी सबैप्रति वक्ताहरूले आभार व्यक्त गरेका थिए।

भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले बाँके जिल्लाको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरिएको छ। स्थानीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गर्दै राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना गरिएको यस प्रतियोगिताले खेलकुद क्षेत्रको उज्ज्वल भविष्यप्रति आशा जगाएको सहभागीहरूको भनाइ थियो।खेलाडीहरूको सपना, अभिभावकको अपेक्षा र समाजको विश्वासलाई आत्मसात गर्दै अगाडि बढेको यो अभियानले खेलकुद विकासको यात्रामा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ। माननीय अम्बिका काफ्लेको सक्रियता, प्रतिबद्धता र खेलप्रतिको लगावले खेलकुद क्षेत्रलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।