लुम्बिनी प्रदेश पहिलो उत्कृष्ट: अध्यक्ष तारा रोकायको नेतृत्वको उच्च मूल्यांकन

  ।   २०८३ बैशाख २२, मंगलवार १४:२९

सबिता चन्द

नेपालगन्ज । नेपाल उद्योग व्यापार महासंघ द्वारा बैशाख १९ र २० गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले लुम्बिनी प्रदेशलाई पहिलो उत्कृष्ट प्रदेशको रूपमा सम्मानित गर्दै संगठनभित्रको सक्रियता र परिणाममुखी कार्यशैलीलाई स्पष्ट रूपमा उजागर गरेको छ।

सातवटै प्रदेशबीच गरिएको समग्र मूल्यांकनमा लुम्बिनी प्रदेशले संगठन विस्तार, सदस्यता अभिवृद्धि, व्यवसायिक हकहित संरक्षण र स्थानीय तहसम्म प्रभावकारी समन्वय स्थापित गर्न सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो। विशेषतः प्रदेश अध्यक्ष तारा रोकायको नेतृत्व, कार्यदक्षता र दूरदर्शी सोचलाई महासंघले उच्च रूपमा मूल्यांकन गरेको बताइएको छ।

अध्यक्ष रोकायको नेतृत्वमा लुम्बिनी प्रदेशले १२ जिल्लामा संगठनलाई चलायमान बनाउँदै उद्यमी–व्यवसायीको आवाजलाई संस्थागत रूपमा उठाउने, समस्या समाधानमा पहल गर्ने र साझा लक्ष्यतर्फ टीमलाई एकजुट गर्ने कार्य उल्लेखनीय रहेको मूल्यांकनमा उल्लेख गरिएको छ। यही कारण, यो सम्मान केवल प्रदेशको मात्र नभई नेतृत्व क्षमताको पनि औपचारिक स्वीकृति बनेको छ।यस ऐतिहासिक उपलब्धिपछि प्रदेश टिमले महासंघका अध्यक्ष खेमलाल भण्डारी लगायत केन्द्रीय टिमप्रति आभार व्यक्त गर्दै भनेको छ, “यो सम्मानले हामीलाई अझ जिम्मेवार बनाएको छ, आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रेरणा दिएको छ।” साथै, १२ जिल्लाका अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू तथा प्रदेश कार्यसमितिका सम्पूर्ण साथीहरूको एकता, समर्पण र सहकार्यबिना यो सफलता सम्भव नभएको प्रदेश टिमले स्मरण गरेको छ। व्यक्तिगत रूपमा साथ दिने सबैप्रति समेत हार्दिक नमन अर्पण गरिएको छ।

लुम्बिनी प्रदेशको यो उपलब्धिले एउटा स्पष्ट सन्देश दिएको छ, सशक्त नेतृत्व, स्पष्ट लक्ष्य र सामूहिक प्रयास भएमा कुनै पनि संगठनले छोटो समयमै उल्लेखनीय परिणाम हासिल गर्न सक्छ। यो सम्मान केवल एउटा ट्रफी होइन, भविष्यतर्फको अझ ठूलो जिम्मेवारी र प्रेरणाको प्रतीक भएको लुम्बिनी प्रदेश अध्यक्ष रोकायले बताउनु भयो ।

सम्बन्धित शीर्षक