युनेस्को क्लबद्धारा बाँकेमा ‘जीवनका लागि पोषण’ परियोजना सञ्चालनमा

  ।   २०८२ चैत्र ९, सोमबार ०९:५३

नेपालगन्ज, । बाँके यूनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकामा ‘जीवनका लागि पोषण परियोजना’ अन्तर्गत जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यशालाको उद्देश्य जिल्लास्तरका सरोकारवालाहरूलाई परियोजनाको उद्देश्य, रणनीति तथा कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गराउनु रहेको थियो । कार्यक्रमको औपचारिक उदघाटन स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले गर्नुभएको थियो । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सुरुवातमा हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लिल बहादुर नेपालीले स्वागत मन्तव्य दिँदै लुम्बिनी प्रदेश र बाँके जिल्लामा कुपोषणको अवस्था, परियोजनाको ढाँचा तथा कार्यान्वयन रणनीतिबारे जानकारी दिनुभएको थियो । अन्तरक्रियात्मक छलफलका क्रममा सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले विद्यालयमा पोषण सुधार गर्न प्रधानाध्यापकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाहले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै यो परियोजनाले तीव्र कुपोषण व्यवस्थापनमा सहयोग गर्ने तथा सरकारद्वारा सञ्चालन गरिँदै आएको सामूहिक जाँच र उपचार कार्यक्रमलाई पूरक रूपमा सहयोग गर्ने बताउनुभयो ।

समापन सत्रमा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतमले कुपोषण न्यूनीकरण कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामूहिक प्रतिबद्धता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबीले कुपोषणको प्रभाव पुस्तौंदेखि देखिने भएकाले वडा स्तरबाटै कार्यक्रमलाई प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले लुम्बिनी प्रदेश तथा बाँके जिल्लामा कुपोषणको अवस्था अझै चिन्ताजनक रहेको बताउँदै यसलाई सुधार गर्न सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैगरी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरीले आमा र बालबालिकामा देखिएको कुपोषण न्यूनीकरणका लागि व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सशक्त समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यशालामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय, वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकारलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा ५६ जना सहभागीहरूको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाह र रमेश प्रसाद अधिकारी तथा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतम, उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक रवि कुमार तुलाधरको पनि सहभागिता रहेको थियो ।

Next Post

बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, ९ हजार ६८३ विद्यार्थी सहभागी हुँदै, ३६ परीक्षा केन्द्र निर्धारण

२०८२ चैत्र ९, सोमबार ०९:५३
सबिता चन्द नेपालगन्ज । बाँके जिल्लामा आगामी चैत १९ गते हुन गइरहेको एस.ई.ई. परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाइएको जानकारी दिनुभयो। डा. डक्टप्रसाद धितालको […]