सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका–१९ अन्तर्गत मोहनपुर फारम क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ। बस्तीका टोल–टोल र खेत–खलिहानसम्म पुगेको उक्त कार्यक्रमले स्थानीयमा उत्साह थपेको प्रचार टोलीले जनाएको छ।
मोहनपुर फारम कृषिमा निर्भर क्षेत्र पनि भएकाले यहाँका किसानले सिँचाइ, मल–बीउ, उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका विषय उठाएका थिए। उम्मेदवार बिष्टले ती समस्यालाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषिलाई आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउने योजनाबारे समेत स्पष्ट धारणा राख्नुभयो।
घरदैलोका क्रममा स्थानीय महिला समूह, युवा र ज्येष्ठ नागरिकसँग पनि छुट्टाछुट्टै संवाद गरिएको थियो। रोजगारी सिर्जना, सीप विकास तालिम, सडक सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तारबारे भएको छलफलले कार्यक्रमलाई सार्थक बनाएको सहभागीहरूको भनाइ छ। “हाम्रो घरमै आएर समस्या सुन्नु नै ठूलो कुरा हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
मोहनपुर फारममा देखिएको सकारात्मक सहभागिताले चुनावी माहोललाई थप सक्रिय बनाएको देखिन्छ। उम्मेदवार बिष्टले जनताले देखाएको विश्वासलाई आफ्नो जिम्मेवारीको रूपमा लिएको बताउँदै भन्नुभयो, “जनताको अपेक्षालाई नीतिगत रूपमै सम्बोधन गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ।”
यसरी, नेपालगन्ज–१९ को मोहनपुर फारमसम्म फैलिएको घरदैलो अभियानले बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको अभियानलाई जनसम्पर्कको दायराबाट अघि बढाएर विश्वास निर्माणको चरणमा पुर्याएको विश्लेषण हुन थालेको छ।



