सबिता चन्द
डुडुवा । बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ। यही क्रममा मंगलबार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका–२ मा व्यापक जनभेटघाट कार्यक्रम सञ्चालन गर्नुभएको छ। कार्यक्रमले स्थानीयस्तरमा उल्लेखनीय चासो र उत्साह सिर्जना गरेको देखिएको छ।
डुडुवा–२ का विभिन्न टोलमा पुग्नुभएका उम्मेदवार बिष्टलाई स्थानीय सर्वसाधारणले आत्मीय स्वागत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थितिले यो भेटघाट औपचारिक प्रचारभन्दा बढी जनताको अपेक्षा र विश्वास अभिव्यक्त गर्ने थलो बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
विशेषगरी डुडुवा मिलनचोक क्षेत्रमा देखिएको माहोल अर्थपूर्ण मानिएको छ। स्थानीय निम बहादुर बिकका अनुसार त्यहाँका बासिन्दाले उम्मेदवार बिष्टलाई आशिर्वाद दिँदै तारा चुनाव चिन्हमा मतदान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। “उहाँ हाम्रो कुरा ध्यान दिएर सुन्नुहुन्छ, आश्वासनभन्दा व्यवहार देखिन थालिसकेको छ,” बिकले बताए।
जनभेटघाटका क्रममा उम्मेदवार बिष्टले स्थानीयका समस्या, आवश्यकता र सुझावहरू ध्यानपूर्वक सुन्नुभएको थियो। खानेपानी, बाटो, रोजगारी र युवासम्बन्धी विषयहरूमा केन्द्रित छलफलले बिष्टको प्राथमिकता जनताको दैनिक जीवनसँग जोडिएको रहेको सन्देश दिएको स्थानीयहरूको बुझाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार डुडुवा–२ मा देखिएको समर्थन केवल क्षणिक उत्साह होइन, निरन्तर जनसम्पर्क र संवादको परिणाम हो। युवा उम्मेदवारका रूपमा बिष्टले अपनाएको मिलनसार र सुन्ने शैलीले परम्परागत राजनीतिभन्दा फरक पहिचान बनाएको उनीहरूको निष्कर्ष छ।
यद्यपि अन्तिम निर्णय मतपेटिकाबाट हुने भए पनि डुडुवा–२ मा देखिएको जनभावना र सार्वजनिक प्रतिबद्धताले बाँके क्षेत्र नं. २ को चुनावी समीकरणमा दिपेन्द्र बिष्टलाई मजबुत स्थानमा पुर्याएको संकेत स्पष्ट देखिन थालेको छ।



