नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानवबेचविखन बिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो ।राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण गरिएको सुरक्षा परियोजनाले जनाएको छ ।
विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र बाल क्लबका प्रतिनिधिहरु, प्रधानाध्यापक सहित अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक इश्वर बिकले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै बालबालिकाको मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणका आधारहरू, सबैलाई समेट्ने समावेशी सिकाइ वातावरण निर्माणका आवश्यकता तथा मानव बेचबिखनका जोखिम र रोकथामका उपायहरूबारे जानकारी गराउनुभयो ।
उहाँले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समुचित विकास सुनिश्चित गर्न सक्नेमा जोड दिनुभयो भने कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड सुपरभाइजर प्रमिषा थारुले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका निमित्त प्रधानाध्यापक सुबास खत्रीले बिद्यालयलाई बालमैत्री, सुरक्षित र समाबेशी बनाउनको लागि आफुहरुले निरन्तर प्रयास गरिरहेको जनाउँदै बिद्यालयले बाल सरक्षण नीति बनाई कार्यन्वयन गरेको र गुनासो सुनुवाई कार्यविधि अनुसार पनि काम गरिरहेको बताउनुभयो ।



