बर्दियामा एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न

सीमान्तकृत किशोर–किशोरीहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवा र परामर्श

  ।   २०८२ जेष्ठ १, बिहीबार १६:२३

बर्दिया । बाँके युनेस्को क्लब (BUC) र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य (SRH) सेवा शिविर सम्पन्न  भएको छ ।‘गर्ल्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत सञ्चालन भएको यस शिविरले विशेष गरी पहुँचबाट टाढा रहेका तथा सीमान्तकृत किशोर–किशोरी र युवा समूहलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा र परामर्श प्रदान गर्‍यो।  कार्यक्रमको उद्देश्य विद्यालय बाहिर रहेका, संवेदनशील तथा जोखिममा रहेका किशोर–किशोरीहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे सचेत गराउनु रहेको थियो।कार्यक्रमको सञ्चालन AGC क्लबकी अध्यक्ष स्वस्तिका खड्काले गर्नुभएको थियो । औपचारिक उद्घाटन वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिहरूमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, स्वास्थ्य शाखा प्रमुख, वडा नं. ७ का अध्यक्ष तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी हुनुहुन्थ्यो ।  बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले परियोजनाको उद्देश्य प्रस्तुत गर्दै, यस्तो शिविरले किशोर–किशोरीहरूलाई आफ्ना स्वास्थ्य सम्बन्धी समस्या खुलस्त व्यक्त गर्न सक्ने आत्मविश्वास दिने बताउनु भयो । साथै, उहाँले सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गर्नुभयो ।  उद्घाटन सत्रको समापन गर्दै वडा अध्यक्ष पौडेलले आफ्नो वडामा यस्तो महत्वपुर्ण शिविर आयोजना गरेकामा आयोजक संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्दै यसले AGC समूहका सदस्यहरूमा SRHR विषयमा सचेतना फैलाउने विश्वास व्यक्त गर्नु भयो ।      शिविरमा १० देखि २४ वर्ष उमेर समूहका १६८ जना किशोर–किशोरीले सेवा लिएका थिए । सहभागीहरू मुख्यतः सीमान्तकृत तथा पहुँचबाट टाढा रहेका समुदायबाट थिए। शिविरमा प्रदान गरिएका सेवा र परामर्शमा गर्भनिरोधक तथा परिवार योजना, सुरक्षित गर्भपतन परामर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, VIA परीक्षण, महिनावारी सम्बन्धी समस्या, ओपीडी सेवा, ल्याब परीक्षण, अन्य SRH सरोकार, मनोसामाजिक परामर्श तथा आवश्यक परेको अवस्थामा उच्च स्वास्थ्य संस्थामा रिफर सेवा समावेश थिए ।    स्वास्थ्य परीक्षण तथा परामर्श नेपालगञ्ज मेडिकल कलेज र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूद्वारा प्रदान गरिएको थियो भने बाँके युनेस्को क्लबको टोलीले व्यवस्थापन पक्ष सम्हालेको थियो। 

Next Post

बर्दियाका किशोरी र बालिका शसक्तिकरणका लागि “कला नै शक्ति हो” कार्यशाला सञ्चालन

२०८२ जेष्ठ १, बिहीबार १६:२३
नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो । उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, […]

सम्बन्धित शीर्षक