बाँके । नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको भव्यताको साथ सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा नेमकिपा बाँकेले प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्यो। शनिबार कोहलपुरमा आयोजना गरिएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवाद नै नेपालको मुख्य शत्रु भएको भन्दै शासक पार्टीहरूले त्यसको दलाली गरिरहेको बताउनु भएको छ ।
केन्द्रीय सदस्य गोसाईले नेपाली काङ्ग्रेस, एमाले तथा माओवादीले भारतीय एकाधिकार पुँजीको दलाली गरिरहेको जिकिर गर्नु भो । उहाँले गणतन्त्र मात्र भनेर नपुग्ने बारे नेमकिपाले सचेत पार्दै आएको बताउनुभयो । उहाँले तथाकथित कम्युनिस्ट पार्टीहरूले सरकारको नेतृत्व गरेको तर शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न नरोकिएको कारण ती कम्युनिस्ट नभएको तर्क गर्नुभयो। केन्द्रीय सदस्य गोसाईले किसान तथा मजदुरको राजनीतिक चेतनास्तर उठ्न नसकेकै कारण पूँजीवादी तथा प्रतिक्रियावादी पार्टीहरूले निर्वाचनमा जितेको भन्दै जनताको सांस्कृतिक स्तर नबढोस् भनेरै किसान तथा मजदुरलाई असल शिक्षा दिनमा ध्यान नदिएको विचार राख्नुभयो ।
देश स्वतन्त्र नभएसम्म जनता पनि स्वतन्त्र हुन नसक्ने केन्द्रीय सदस्य गोसाईको भनाइ छ । नेमकिपाले देशको सार्वर्भामिकता रक्षाको आन्दोलनलाई सफल बनाउन सबै देशभक्तलाई एकजुट हुनुपर्ने बताउनु भयो। नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखतबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपाने, जिल्ला सचिव नविन शाही, जिल्ला सदस्य रसिद अहमद मनियार, रत्नबहादुर बस्नेत, नारायणी चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो ।
अधिकांश वक्ताहरुले कार्यक्रममा वर्तमान परिस्थिति आर्थिक संकटको जिकिर गरे। उनीहरुले भारतीय सिमानाकाले गर्दा नेपाली बजारमा प्रत्येक्ष असर परिरहेको समेत बताउनु भयो। वक्ताहरुका अनुसार पुँजीवादीहरुको तक्षार्थ देशका ठुला दलहरूले काम गरिरहेका छन्। दोस्रो चरणको बैठकमा डिल्ली पुनमगर, शेरबहादुर शाही, रुपेश श्रेष्ठ, विश्वबन्धु देवकोटन, कुलबहादुर शाही, भावना थापा, दीपा बुढा, भावना सिंह, रोहित न्यौपानेलगायतले पार्टीको फागुन १६ गतेबाट हुने आठौँ महाधिवेशन को उठाउनुपर्ने विषयबारे आफ्नो विचार राख्नुभएको थियो ।