सबिता चन्द
नेपालगन्ज । डेढ बिघाको खेलमैदानमा झण्डै आधा बिघा क्षेत्रफलको स्टेजमा ८ सय विद्यार्थीले एकैपटक नृत्य गरेको दृश्यले अभिभावकहरु मन्त्रमुग्ध नै हुनुभयो । यो दृश्य थियो, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०मा अवस्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलको १८औँ वार्षिकउत्सवको ।
हरेक बर्ष नयाँ नयाँ प्रस्तुतिका साथा आफ्नो वार्षिकोत्सब मनाउने सोफियाले यसबर्ष पनि बिहीबार आफ्नै स्कुलको प्राङ्गणमामा सो वार्षिकोत्सब तथा ख्रीष्टमस कार्यक्रम मनाएको हो । कार्यक्रममा विभिन्न प्रकारका प्रतिभा प्रस्तुत गरिएका थिए । नृत्य, एक्सन गित, नाटक, कविता, मुक्तक लगायतका कलाहरु विद्यार्थीहरुले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको विश्लेषण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापाले शुभकामना मन्तव्यद्वारा विद्यालयको प्रशंसा गर्नुभयो । उहाले भन्नुभयो,´ सोफियाले नेपालगन्जमा आफ्नो गुणस्तरमा अब्बलता कायम राखेको छ ।` शिक्षा नियमावली अनुसार विद्यालय चल्न सके विद्यार्थीहरुको भविष्य निर्माण हुने प्रमुख थापाले बताउनु भयो । धेरै समय घरमा बिताउने भएकाले बालबालिकाहरुलाई आमा बाबुले प्रशस्त समय दिनुपर्नेमा प्रमुख थापाले जोड दिनु भयो ।
विद्यालयमा विभिन्न कक्षाबाट सिपालु विद्यार्थी छानेर कार्यक्रम गर्ने पुरानो चलन हरेक स्कुलले दोहोर्याउने गर्छन् । तर सोफिया स्कुलका प्रवन्ध निर्देशक सुशिला बसेलले भने फरक बिचार राख्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ´ छानेर त जसले पनि नचाउछन् । अर्थात जुन पनि विशेष कार्यक्रम विद्यालयका सेलेक्टेड विद्यार्थीहरुद्वारा गरिने परम्परा पुरानो हो । तर हामी भने विद्यालयका सबै विद्यार्थीहरुले नै कार्यक्रममा भाग लिनुपर्छ भन्ने मान्नेता राख्छौँ ।` प्रबन्ध निर्देशक बसेलले स्कुललाई घरको वातावरण जस्तै बनाउनु पर्ने भएकोले आफूहरूले सो वातावरणको सृजना गरेको बताउनु हुन्छ । कार्यक्रमको अवधिभर प्रवन्ध निर्देशक बसेलको नजर विद्यार्थीको प्रस्तुतिमा केन्द्रित थियो । आँखाको एकटक लगाएर कार्यक्रम संचालन गर्ने देखि अन्य सबैलाई एकैपटक निर्देशन दिइरहनु भएको थियो ।
रंगीन नृत्यका लागि विद्यार्थीहरुको लाम जब लाग्यो तब अभिभावकहरुको घुइँचो स्टेजतर्फ केन्द्रित भयो । विभिन्न किसिमका रंगीचंगी पोशाकमा सजिएका विद्यार्थीहरु नाच्दै मैदानमा पुगेपछि अभिभावकहरुको भिड अगाडि स्टेजतर्फ खिचिएको थियो । हरेकका हतमा मोबाईल तेर्सिएको अभिभावकहरु आफ्नो नानी बाबुको फोटो खिच्नमै व्यस्त देखिएको दृश्य थियो । यसप्रकारको नृत्य कहिकतै नभएको र नदेखेको अभिभावक अब्दुल वाहित मन्सुरीले बताउनु भयो ।
विद्यार्थीको भविष्य निर्माणमा आफूहरू लागेको संस्थापक अध्यक्ष कालिबहादुर बसेलले बताउनु भयो । साना नानी बाबुहरु काचो माटो जस्तै भएको हुनाले अभिभावक र शिक्षक मिलेर उनीहरुको भविष्य निर्माण गर्नुपर्ने बसेलले जोड दिनुभयो । विद्यालयाले दिनुपर्ने सबै सुविधा दिएको जिकिर अध्यक्ष बसेलको थियो । कार्यक्रम निकै आकर्षक भएको सहभागी अभिभावकहरुले बताउनु भयो । अभिभावकका अनुसार विहान साडे ११ बजे सुरु भएको कार्यक्रम साझ ५ बजेसम्म चल्दैगर्दा समेत समय गएको थाहा भएन । अधिकांश अभिभावकहरुले सोफियाको व्यवस्थापान अन्तर्राष्ट्रिय स्तरको भएको बताउनु भयो । कार्यक्रममा हजार भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विद्यालयले कार्यक्रमको अन्तमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा पुर्व मन्त्री गजेन्द्र हमाल, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अब्दुल वाहित मन्सुरी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव श्रेष्ठ, पत्रकार र समाजसेवीको उपस्थिति थियो । कार्यक्रमको संचालन विद्यार्थी र शिक्षिका निता शाहले गर्नुभएको थियो ।



