नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजनाअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन सञ्चालन गरिएको परियोजना अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापन गरेर फोहरबाट मोहर बनाई आय आजर्न समेत गराउने उदेश्यले सञ्चालित यो तालिममा सहभागि युवा महिलाले फोहोर व्यवस्थापन गर्दै आयआर्जन र रोजगारी समेत पाउने बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरभाइजर कञ्चन दहितको पनि उपस्थिति थियो ।
तीन दिनसम्म सञ्चालन गरिने सो तालिममा ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेर समूहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ । सो तालिमको प्रशिक्षक रुविना थपलिया रहनु भएको छ । बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले सो तालिममा ठाकुरबाबाको फोहोर व्यवस्थापन कसरी भइरहेको, फोहोर व्यवस्थापनका लागि सरकारले बनाएका निति नियमबारे जानकारी गराउने, फोहोरबाट मोहर कसरी बनाउने तथा फोहोर व्यवस्थापनका चुनौती र अवसरहरुबारे सहभागिहरुलाई बिस्तृत रुपमा प्रशिक्षण दिईने बताउनुभयो ।
बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवा महिलालाई वातावरण संरक्षणसंगै आय आर्जनमा सहभागि गराई उनिहरुको जीवनस्तर उकास्ने उदेश्यले ग्रिन इकोनोमी परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।