लुम्बिनी प्रदेश सरकारका वनमन्त्री कुर्मीले दिनुभयो राजिनामा

  ।   २०८१ भाद्र २५, मंगलवार २०:१७

नेपालगन्ज । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिनु भएको ।

मन्त्री कुर्मी साउन ९ गते मन्त्री नियुक्त हुनु भएको हो । उहाको नियुक्तिले कांग्रेसभित्रको संस्थापन इतर पक्ष समेत असन्तुष्ट थियो । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गर्नु भएको थियो । कांग्रेस लुम्बिनी प्रदेश समितिले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो।

आज मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका स्रोतको भनाई छ । त्यसपछि कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाउनु भएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले मन्त्री कुर्मीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको पुष्टि गर्नु भो । ‘ आज नै राजीनामा दिने कुरा आएर केही समय छलफलका लागि रोकिएको थियो, पछि उहांले राजीनामा बुझाउनुभयो’–घिमिरेले भन्नु भयो ।

कुर्मीलाई मन्त्रिपरिषदमा राखेपछि मुख्यमन्त्री आचार्य र सरकारको समेत आलोचना भइरहेको थियो । निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप मन्त्री कुर्मीमाथि छ ।

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भन्दै उहाका आफन्त र अधिकारकर्मीहरू पटक पटक आन्दोलित थिए । उहालाई उम्मेदवार बनाएपछि देखि नै आन्दोलन भएको थियो ।

महिला अधिकार मञ्चकी इन्चार्ज अधिकारकर्मी रुवी खानले गम्भीर अपराधका अभियुक्तलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभएसम्म पीडित पक्षले न्याय नपाउने बताउनु भयो।

२०७५ सालमा एकाएक हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्ने काममा मन्त्री कुर्मीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर राजनीतिक पहुँचका भरमा कुर्मी कारबाहीबाट बच्दै आउनु भएको थियो ।

Next Post

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक

२०८१ भाद्र २५, मंगलवार २०:१७
काठमाडौ,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ। चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई […]