पिटरको बक पत्रमाथिको विमर्शले छर्लङ्ग बनायो सहभागीहरुलाई

  ।   २०८१ बैशाख २८, शुक्रबार २३:५४

नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको पुस्तक बकपत्रमाथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु श्रृंखलाको चौथो अंकमा पिटरको बक पत्रमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा साहित्यकार सनत रेग्मी, पत्रकार दैनिक नेपालगन्जका सम्पादक झलक गैरे र अध्यापक भागवत पौडेलले बकपत्रमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भयो । कार्यक्रममा सहभागीहरुले पनि आफ्ना जिज्ञाशा लेखकसमक्ष राखे र लेखक पिटरले जवाफ दिनुभयो ।      कार्यक्रमका वक्ताहरुले पिटरको पुस्तकमाथि मिश्रित धारणा राखे । पौडेलले बकपत्रमा सबाल्टर्नहरुका कुराले प्राथमिकता पाएको र जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएकोमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताउनु भयो । उहाँले बकपत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको पनि बताउनु भयो ।

पत्रकार गैरेले पिटरले बक पत्र भनेपनि उहाँले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेको टिप्पणी गर्नु भयो । उहाँले पिटरले कतिपय कुरा पुस्तकमा लेख्न नसकेको उल्लेख गर्दै त्यसो हुनुको कारण माग समेत गर्नुभयो ।  साहित्यकार रेग्मीले बक पत्रमा पिटरले धेरै विषय छोएको तर ती विषयका सबै आयामहरु उल्लेख नगरेको बताउनु भयो । उहाँले बकपत्रमा निराशा हाबी भएको पनि बताउन छुटाउनु भएन । यद्धपि पिटरले माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले पिटरको राजनीतिक जीवनमा आएका उतारचढाव र उहाँको अहिलेको राजनीतिक एवं वैचारिक अडानका विषयमा जिज्ञाशा राखेका थिए ।        टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकमा जस्ताको तस्तै उतार्न कठिन हुने बताउनु भयो । यद्धपि आफूले आफ्नो जीवन दर्शनलाई र मुक्तिको सपना देखेर जीवनको बाजी राखि होमिएको आन्दोलन तुहिएकोप्रति घृणा अभिव्यक्त गरेको बतानुभयो । उहाँले भन्नुभयो, कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्छ । नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ । उहांँले आफू अहिलेपनि माओवादी रहेको दाबी गर्दै भन्नुभयो, पहिले म पार्टीमा थिएँ । अहिले सकडमा छु । म सडकको माओवादी हुँ ।
कार्यक्रममा बाँकेका राजनीतिक अगुवा, लेखक, अध्यापक, समाजसेवी, पत्रकार लगायतका व्यक्तिहरुको सशभागिता थियो ।

Next Post

कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई

२०८१ बैशाख २८, शुक्रबार २३:५४
सुर्खेत । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् । शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत) मा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जित्नु भएको हो । त्यसैगरी […]

सम्बन्धित शीर्षक