सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

  ।   २०८० चैत्र ४, आईतवार १५:२४

पोखरा   । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको बताउनुभएको छ। आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।”

प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताउनुभयो।

उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।”

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उहाँले बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।”

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताउनुभयो।

उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ।”

Next Post

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात गरौँ : प्रधानमन्त्री

२०८० चैत्र ४, आईतवार १५:२४
पोखरा(कास्की), । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताउनुभयो । “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक […]