विज्ञान, प्रविधि र नवप्रर्वन’ मा नामले उच्च प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  ।   २०८० माघ ५, शुक्रबार २०:०६

नेपालगन्ज । कम्पाला(युगान्डा), ५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ मा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ ।”

‘नाम’ का धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वव्यापीकरण विश्वास गरिए अनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्छ भन्नुभयो । ‘नाम’ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

‘नाम’ ले संयुक्त राष्ट्रसङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशहरूको आवश्यकताप्रति उत्तरदायी बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले गर्दा वहुआयामिक विश्वव्यापी समस्याहरूको समाधान गरी दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ ।”

बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

Next Post

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानन्त्रीद्वारा आह्वान

२०८० माघ ५, शुक्रबार २०:०६
कम्पाला। (युगान्डा), ५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असम्लग्न आन्दोलन(नाम)का सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन […]