बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमति

  ।   २०८० पुष १७, मंगलवार १४:३५

नेपालगन्ज । बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।

बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रजिअको तर्फबाट पुरा गर्न सक्ने मागहरू पुरा गर्छु, अन्य निकायसँग समन्वय गरेर पुरा गर्ने मागहरू पुरा गर्न पहल गर्छु ।’

स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका हुन् ।

सुधार गृहबाट १४ जना नाबालक कैदीहरू फरार भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रजिअ पोखरेलले बताउनुभयो । नाबालक अवस्थामा थुनामा परेका बालबालिका १८ वर्ष पुरा हुँदा पनि बाल सुधार गृहमा नै राख्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले यस्ता समस्या आइरहेको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘१८ वर्ष उमेर पुरा भएकालाई कारागारमा सार्नुपर्छ, त्यस्तै हाम्रो बाल सुधार गृह होस्टेल मोडलमा सञ्चालन गर्नुपर्छ ।’

बाल सुधार गृहलाई कारागार मोडलमा सञ्चालन गर्दा विकृतितर्फ गएको प्रजिअ पोखरेलको भनाई छ ।

(रातो पाटी )

Next Post

भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति स्थापना

२०८० पुष १७, मंगलवार १४:३५
नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो । यशोधरा बौद्ध […]

सम्बन्धित शीर्षक