चित्तलको ३० किलो मासु सहित एक जनालाई पक्राउ

  ।   २०८० भाद्र १७, आईतवार १६:१५

नेपालगन्ज । बाँके प्रहरीले जंगली जनावर चित्तलको ३० किलो मासुसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्तीपुलमा डिउटीमा खटिएको प्रहरी टोलीले राप्तीपारीबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ह ३९०८ नम्बरको पेट्रोलवाला अटोरिक्सा रोकी चेकजाँच गर्ने क्रममा शनिवार बेलुका छाला निकालेको अवस्थामा रहेको हड्डीसहितको बन्यजन्तु चित्तलको ३० किलोग्राम मासुसहित राप्तीसोनारी ६ का २४ बर्षिय अटो चालक हरी परीयारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन बाबू विश्वकर्माले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक विश्वकर्माले शनिवारै बेलुका सबै प्रकृया पुरा गरी आवश्क कारवाहीका लागि बरामद गरिएको मासु, अटो र अटो चालकलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको बताउनु भयो ।  डिभिजन बन कार्यालय बाँकेका निमित्त डिभिजनल बन अधिकृत गणेश खड्काले बन्यजन्तु चित्तलको ३० किलोग्राम मासुसहित, एउटा अटोरिक्सा र एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी वन कार्यालयमा बुझाएको बतानु भयो । ‘बाँके प्रहरीले शनिवार बेलुका वन्यजन्तु चित्तलको ३० किलो मासु, एउटा अटोरिक्सा र संलग्न एक व्यक्तिलाई वन कार्यालयमा बुझाएको छ, छानविन गरी आवश्यक कारवाहीका लागि सहायक डिभिजनल वन अधिकृत रमेश बुढाथोकीलाई अनुसन्धान अधिकृत तोकेका छौं, उहाँले आवश्यक काम कारवाही सुरु गर्नुहुन्छ ।’ उहाँले भन्नु भयो ।

अनुसन्धान अधिकृत बुढाथोकीले प्रहरीले बुझाएको व्यक्ति, अटो र चित्तलको मासुका बारेमा अनुसन्धान सुरु गरिने बताउनु भयो । बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अनुसन्धान पछि खुल्ने उहाँले बताउनु भयो । ‘भर्खरै अनुसन्धान गर्ने जिम्मा आएको छ, अब पक्राउ परेका ती व्यक्तिसँग प्रारम्भिक सोधपुछ तथा आवश्यक प्रकृया पछि मात्रै मासु कसले पठाएको हो ? कहाँबाट पठाएको हो ? वा उनले आफै मारेको भन्ने लगायतका विषयमा थप खुल्नेछ ।’ उहाँले भन्नुभयो ।

बाँकेमा पछिल्लो समयमा अवैध तरिकाले वन्यजन्तुको चोरीसिकारी गर्ने कार्य बढेको पाइएको छ । बाँकेमा वन्यजन्तु मात्र नभएर अबैध काठ चोरी तस्करी गर्ने कार्य पनि बढ्दै गएकोछ ।

Next Post

मन्त्री शर्माले भन्नुभयो, ´व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि हो`

२०८० भाद्र १७, आईतवार १६:१५
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम […]