श्रम के हो ? हामी भन्छौं श्रम भनेको काम गर्नु हो । काम गर्नुलाई हामी दुख गर्नु भन्छौं । के त्यसो भए श्रमको अर्थ दु:ख हो त ? श्रमको मर्म र महत्त्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले मन मस्तिष्कबाट गरिने कुनै पनि श्रमले मानिसलाई सफलताको उचाइमा पुर्याउँछ । श्रमले बाच्न सिकाउछ । श्रम गर्नु भनेको सङघर्ष गर्नु पनि हो । सङघर्षले नै जीवन परिणाममुखी बनाउछ , अनुशासित , स्वावलम्वी, कर्मवीर, र कर्मयोद्दा बनाउछ । यसर्थ श्रम कुनै दु:ख होईन ।
वर्तमान सन्दर्भमा श्रमको अपव्याख्या हुँदै आएको छ ।श्रमलाई दु:ख र श्रम गर्नेलाई दु:खी भन्ने गरेको छ । आजको चेतनास्तर यति संकिर्ण र साघुरो बन्दै गएको छ कि श्रमलाई हामी दु:ख ठान्छौ, यहि सोचाइका कारण श्रम र श्रम गर्नेलाई हेयका दृष्टिले हेरिरहेका हुन्छौँ । जबकि श्रम नै सुखको सर्वोच्च स्रोत हो ।
मानिसहरु आफ्नो सिमित स्वार्थको लागि के सम्म गर्दैनन् परिवार , नातागोता , कार्यक्षेत्र ,संस्था , जनतासँग बेइमानी र जुकाले रगत चुसे जस्तै चुसिरहेका हुन्छन् । एक बोतल मदिराको लागि के सम्म गर्दैनन् ? आफ्नै बाउलाई कोदालोले हानेर मार्छ्न । अर्कोतिर एक गाग्री पानी र एक कदम सहज तरिकाले हिड्नको लागि सिङ्गो जीवनभरी कोदालो बोकेर हिड्छ्न ।
दाङका चन्द्रबीर वली, जसले ७२ वर्षको उमेरमा आफ्ना सन्तानको सहजताको लागि पहाड खनेर सडक बनाए । आर्थिक रुपले विपन्न परिवारमा जन्मिएका उनी रोजगारीका लागि भारतमा कठोर ज्यालादारी गरेर ४८ वर्षको उमेरमा नेपाल फर्किएका थिए । ४८ वर्षको उमेरमा २० वर्षकि दृष्टिविहीन महिलासँग विवाह गरि ६ सन्तान दृष्टिविहीन जन्मिए पनि सातौं सन्तान आशाको किरण बोनेर दृष्टि सहित जन्मिए ।
चन्द्रबीरको घरसम्म जाने बाटो थिएन । जसले उनको परिवारलाई दैनिक आवतजावतमा कष्टकर हुन्थ्यो । आफू मरेर गएपछि परिवारलाई थप कष्टकर हुने पिरले पिरोल्दै गएपछि उनले ७२ वर्षको उमेरमा भिरालो पडाड जङ्गल एक्लै फोडेर, फडानी गरेर घरसम्म पुग्ने बाटो बनाउने सङकल्प गरे र एक्लै खनेर ३ कि. मि सडक बनाए । उनले बनाएको त्यो गोरेटो बाटोलाई स्थानीय सरकारले चौडा बनायो र चन्द्रबीर मार्ग नामाकरण गरिदिएको छ । आफ्नो एकल श्रमबाट बनेको सडकमा गाडीहरू चेलेको देख्दा उनको आँखाबट हर्ष विभोर र सुखद अनुभुती हुन्छ ।
भारत स्थित विहारका The mountain man अर्थात दशरथ माझीले २२ वर्षको अनवरत श्रमयुद्द मार्फत ३६० फुट लम्बाई, ३० फुट चौडाइ र २५ फुट उचाई भएको पहाड फोडेर सडक बनाए ।
पानीको समस्याबाट प्रताडित धरानबासिलाई पानी खुवाउने प्रमुख चुनावी मुद्दा बनाएका धरानका नगर प्रमुख हर्क साम्पाङले निर्वाचित भए लगत्तै पानीको खोजिमा जङ्गल र खोला खोल्सि तिर लागे । झन्डै ४२ कि .मि लामो दुरी रहेको कोकाहा खोलाको पानी ९८ दिनको जनश्रमदानबाट धरानको पानी ल्याई छोडे । हर्कको आँसु र पाइपबाट पानी एकै बगिरहेको थियो । सायद उनको आँखाबाट एउटा सप्ना बगिरहेको थियो । निकै अप्ठ्यारो भिरपाखाको बाटो र जङ्गल छिचोल्दै झन्डै ४२ कि.मि दुरि पार गरेर पानी ल्याउनु फलामको चिउरा चपाउनु जत्तिकै थियो ।
धरानमा खानेपानीको समस्या हर्क साम्पाङको दृढ़ संकल्प र विस्वास सगै समाधान हुँदै जाला, सबैलाई पानी पुगे वा नपुगे पनि उनले जुन श्रम सस्कृती सिकाउन र जागरण गर्न खोजेका छन, त्यो स्थपित भइ सक्यो । श्रम गर्दा लाज मानु हुदैन भन्ने सन्देश निकै मार्मिक र सोचनिय ढंगले दिएका छन् । उनले नेतृत्व के हो र कस्तो हुनुपर्छ नेपाल जस्तो गरिब मुलुकमा विकास कसरी गर्न सकिन्छ भनेर बुझाउन खोजेका छन् । श्रमदान भनेको अनुशासन, संस्कृती, संस्कार , अपनत्व, जिम्मेवारी, राष्ट्रको लागि निस्वार्थ र ब्रम्हज्ञानिक चेतना हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छन । जुन अत्यन्तै सान्दर्भिक छ । श्रमदान र श्रम संस्कृतिका कारण संसारमा असम्भव ठानिएका धेरै काम सम्भव भएको हो । चीनको क्विचाउ प्रान्तस्थित जुनिको काओबाङबाका डाफाले आफ्नो जीवनकालमा ९.४ कि.मि एकल प्रयास र श्रमदानको नेतृत्व गरी कठोर श्रमको बलमा काओबाङबा गाउँमा पानी ल्याउन सफल भएका थिए ।
यस्ता युगान्तकारी कार्यहरुको थालनी गर्दा समाजमा समाजसेवी , बुद्धिजीवी , अभियान्ता कहलिएकाहरुले प्रभावित र असफल बनाउन विभिन्न किसिमका हतकण्डा मच्चाउने, लाल्छना लगाउने दु:ख दिने, हास्ने खिसिट्युरी गरिरहेका हुन्छन् जुन हामिले देखिरहेका हुन्छौँ। यसबाट विचलित नभइ अविरल, दृढ़ संकल्प, आत्मविश्वास र सकृयतालाई प्रेरणा श्रोतको रुपमा अंगिकार गर्दै भावी पुस्ताका लागि श्रमदानको लागि प्रण गरौ । चन्द्रबीर र हर्क साम्पाङको खाँचो छ । त्यो खाचो पूरा गर्न देशका लागि सेवा भावले लागौं ” समृद्धि सम्भव हाम्रै पालामा” ।
(लेखक जनता राष्ट्रिय मा.वि. कैलालीका नि.प्र.अ. हुन ।)