‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

  ।   २०७७ भाद्र २२, सोमबार ०६:३४

काठमाण्डौ । सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । ुमलाई केही हुन्न, म तन्दुरुस्त छुु भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

उहाँले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने बताउनुभयो । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्न डाक्टर गौतमको सुझाव छ ।

कोरोना भाइरसको सङ्क्रमणबारे भ्रममा बस्नु भन्दा वा भ्रम छर्नु भन्दा कोरोना भाइरसको सङ्क्रमण भइ निको भएका व्यक्तिहरुको अनुभव र भोगाइ सुन्न उहाँको आग्रह छ । कोरोनाको सङ्क्रमणपछि सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्नसमेत नसकिने हुँदा सङ्क्रमण रोकथाममा गम्भीर बन्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जोड दिनुभयो ।

यस्तै उहाँले सरकारले सीमित स्रोत साधनमा कोरोनाको निःशुल्क पीसीआर परीक्षण गरिरहेको बताउनुभयो । कोरोनालाई केही होइन भन्दै भ्रम छर्ने काम गरे कानुनअनुसार कारबाही हुने पनि उहाँले बताउनुभयो ।

यसै सम्बन्धमा एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर गोविन्द गौतमले कोरोना भाइरसको सङ्क्रमण कुनै पनि बेला हुन सक्ने र आइसोलेशनको तयारी गरी राख्न सुझाव दिनुभएको छ । ुम भर्खरको ठिटी हो वा ठिटो हो, मलाई के हुन्छ र भन्नु हुँदैन । केही रोग नभएका युवाबाट पनि अरु जोखिम भएकाहरुलाई सङ्क्रमण सार्ने सम्भावना भएकाले सावधानी अपनाउनुपर्छ । अरु विभिन्न रोग लागेका व्यक्तिलाई त झन् हामीले रोग सार्नु हुँदैनु, उहाँले भन्नुभएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेको छ । उज्यालो अनलाइन

Next Post

डोटीमा एक महिनाको अवधिमा ३० जनामा स्क्रब टाइफस देखियो

२०७७ भाद्र २२, सोमबार ०६:३४
डोटी । डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल डोटीका अनुसार गएको साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । सङ्क्रमण देखिएकामध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसीयू आवश्यक पर्ने भएकाले जिल्लाबाहिरका सुविधा सम्पन्न […]