१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुनः परीक्षा दिन पाइने

वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी

  ।   २०८० बैशाख २२, शुक्रबार १८:०८

file photo

संवाददाता, काठमाडौं ।

कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहो¥याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।

दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा सोही कक्षामा दोहो¥याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘कक्षा १२ पछिको ड्रप आउट रोक्ने र समग्र शिक्षा प्रणालीलाई सहयोग होस् भनेर विद्यार्थी मैत्री, विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’

पहिला नै पास गरिसकेको विषयमा फेरि पढेर परीक्षा दिनुपर्दा विद्यार्थीमा नैराश्यता छाउने र जुन विषयमा लागेको छ त्यहि विषयमा परीक्षा दिन पाउँदा विद्यार्थीमा सकारात्मक उत्प्रेरणा मिल्ने उहाँको भनाइ छ ।

निर्देशिकाको यो व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नगर्ने उनको जिकिर छ । अरु राष्ट्रहरुको व्यवस्थाहरु पनि अध्ययन गर्दा यस्तै व्यवस्था भएकोले गर्दा नेपालमा पनि त्यो सुविधा दिने निर्णय भएको बताउनुभयो ।

निर्देशिकाको दफा ७ (ङ) संशोधन गर्दै ‘नियमित तथा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको हो सोही सोही विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

गत वर्षका १२ कक्षाका ५८ हजार विद्यार्थीले सबै परीक्षा दिन नपर्ने

यो संशोधित निर्देशिका गत वर्षको विद्यार्थीहरुमा समेत लागू हुने भएको छ । जस अनुसार गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थीलाई सहज हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा यो निर्णयले गत वर्ष तीन विषय भन्दा बढी विषयमा एनजी ल्याएको करिब ५८ हजार विद्यार्थीलाई राहत मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ्, ‘यो निर्णयले गत वर्षका करिब ५८ हजार विद्यार्थीलाई पढ्ने उर्जा दिने र एनजी लागेको विषयमा मिहिनेत गरेर अब म पास हुन्छु भन्ने आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन्छन् भन्ने हाम्रो अपेक्षा छ ।’

यसले विद्यार्थीको आन्तरिक सक्षमता बढाउने जिकिर उहाँले गर्नुभयो । बोर्डले वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको अनलाइन खबर डटकममा प्रकाशित छ ।

Next Post

युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा निर्माण गरिएको शौचालय हस्तान्तरण

२०८० बैशाख २२, शुक्रबार १८:०८
सविता चन्द नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद […]