संवाददाता, नेपालगंज ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण बिषयक दुई दिने तालिम नेपालगंज १९ मा सम्पन्न गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ ले आयोजना गरेको तालिमको समापन समारोहमा बोल्दै वडा अध्यक्ष परसराम कुर्मीले समाजमा लैङ्गिक हिंसा र बालबिबाहको समस्या यथावत रहेको बताउदै यस्ता समस्याको न्यूनिकरण गर्न तालिम उपयोगि भएको बताउनुभयो ।
समाजमा रहेका गलत कार्य र कुसंस्कारलाइ हटाउन तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्र्नु पर्ने बताउदै अध्यक्ष कुर्मीले भन्नुभयो “ज्ञान र शिक्षा जति बाँड्यो, त्यति बढ्छ तालिमबाट सिकेका कुरा समुदायका ब्यक्तिहरुलाई सिकाउनुहोला ।”
यसैगरी वडा सदस्य सुहावन कुर्मीले समाजमा रहेका बिधमान समस्या समाधानका लागि सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
वडा सचिब मदन रावतले समुदायमा लैङ्गिक असमानता बिधमान रहेकाले यस्तो तालिमको आयोजना गरिएको बताउँदै छोरा र छोरी बीच हुने बिभेद अन्त्य गरी समान अवसर प्रदान गरी लैङ्गिक समानता तथा समाजिक समावेशिकरणको सिद्धान्त अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
युवा घरले सहजीकरण गरेको तालिममा ३० जना सहभागी थिए भने युवा घरका अध्यक्ष मन भण्डारी, सदस्य तपेन्द्र बहादुर मलातीले प्रशिक्षण दिनुभएको थियो ।
यही बैशाख १० र ११ गते सञ्चालन भएको तालिममा सहभागीले समाजमा रहेका बिभिन्न लैङ्गिक असमानता तथा लैङ्गिक हिंसाका घटनाहरु न्युनिकरण गर्न तालिमबाट ज्ञान प्राप्त भएको बताउदै तालिम समय सान्दर्भिक भएको बताएका छन ।