नरैनापुर, बाँके । लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले जिल्लाको आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने धर्मिक तथा पर्यटकीय स्थलहरु भ्रमण तथा अवलोकन गरिरहेकी छिन ।
शनिवार बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर क्षेत्र पुगेकी मन्त्री नमुना आइतबार नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चुरे पहाडमा अवस्थित ‘सन्तानेश्वर बाबा’ मन्दिर पुगेकी हुन ।
मन्त्री नमुना ती धार्मिक क्षेत्रमा पुजाआजा गर्न नभएर त्यस ठाउँलाई कसरी बिकास गर्न सकिन्छ, कसरी आन्तरिक तथा बाह्य तिर्थालु भक्तजन तथा पर्यटकहरुलाई त्यहाँ पुर्याएर त्यहाँको धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्न सकिन्छ भनेर त्यहाँका समस्याहरु पहिचान गरी समाधान गर्न पुगेकी हुन ।
जिल्लाका ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई बाहिर उजागर गरेर ती ठाउँहरुमा आवश्यक विकास गरी प्रचार प्रसार गर्दै त्यहाँका समस्याहरु समाधान गरी आन्तरिक तथा वाह्य तिर्थालु भक्तजन तथा पर्यटकहरुलाई आकर्षित गरी उनिहरुलाई भित्र्याएर स्थानीयलाई आय आर्जन समेत होस र पर्यटनका माध्यमबाट जिल्ला आत्मनिर्भर बनोस भनि आफुले योजना बनाउनका लागि ती स्थलहरु अवलोकन भ्रमण गरेको मन्त्री नमुनाले बताइन् । आइतबार सो क्षेत्रमा पुगेकी उनले त्यहाँका पुजारी महन्त श्री योगानन्द गिरीसङ्ग त्यहाँका समस्याका बारेमा छलफल गरिन । छलफलका क्रममा पुजारी गिरीले खानेपानी, शौचालय, आश्रम, सडक, कलात्मक सौन्दर्यसहितको आधुनिक किसिमको मन्दिर निर्माण लगायतका समस्याहरू समाधानका लागि पहल गरिदिन मन्त्री नमुनासङ्ग आग्रह गरे । उनले नरैनापुरको कोलाहाबाट जङ्गलको बिचमा पर्ने चक्लेपाथर भन्ने स्थानसम्म मोटर बाटोको स्तरोन्नति र त्यसपछि मन्दिरसम्म पुग्नका लागि रेलिङ्सहितको स्टेप सिढी बनाइदिन आग्रह गरे ।
मन्त्री नमुनाले यहाँको विकासका लागि आफुले सम्पुर्ण रुपले सहयोग गर्ने बताइन् । उनले खानेपानीका लागि तल रहेको खोलाबाट मोटरको सहायताले सोलार प्रबिधि मार्फत पानी तानेर माथी ल्याई ठूलो ट्याङ्की निर्माण गरी ट्याङ्कीमा जम्मा गर्न सकिने बताइन् । उनले खानेपानी समस्या समाधान गर्न आफू तत्काल लागिपर्ने बताइन् । त्यसैगरी, सडक, स्टेप सिढी, बाबाको आश्रम तथा आधुनिक किसिमको मन्दिर निर्माण लगायतका कार्यहरु पूरा गर्नका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाइन । उनले हेलिकप्टरबाट आउन चाहने तिर्थालु भक्तजन तथा पर्यटकहरुका सुबिधाका लागि हेलिप्याड समेत बनाउने आफ्नो योजना रहेको सुनाइन् । हालसम्म त्यस ठाउँको विकासका लागि स्थानीय सरकार लगायत अन्य कुनै पनि सरकारी निकायबाट पहल तथा सहयोग नभएको नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेमचन्द्र मौर्यले जानकारी दिए । त्यहाँसम्म पुग्ने गोरेटो बाटो, बाबाको आश्रम लगायतका सबै सहयोग स्थानीय तथा बाह्य श्रद्धालु भक्तजनहरुबाट बनाइएको अध्यक्ष मौर्यले जानकारी दिए । नेपालगन्जबाट नरैनापुरको कोलाहासम्म मोटर, त्यहाँबाट जङ्गलको बिचमा पर्ने चक्लेपाथर भन्ने स्थानसम्म मोटरसाइकल र त्यसपछि आधा घण्टाको उकालो पैदल यात्रा गरेर सन्तानेश्वर पुगेकी मन्त्री नमुनासङ्ग नरैनापुर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तिसोनारी ७ का वडाअध्यक्ष रामलखन थारु लगायतका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीय वासिन्दाहरु उक्त क्षेत्रमा पुगेका थिए ।