पाल्पा । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि पठाएको संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनर्लेखन गर्न माग गरिएको छ।
लुम्बिनी प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरूले यस्तो माग गरेका हुन् । आइतबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ११ वटा जिल्ला शाखाले पुनर्लेखन गर्न माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पनि यहाँका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। शाखा अध्यक्ष रेखिराम रानाको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
विधेयकप्रति महासंघले यसअघि नै गम्भीर ध्यानाकर्षण भएको जनाइसकेको छ। विधेयक प्रदेशभरिका सञ्चार माध्यमहरूको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनुपर्ने अध्यक्ष रानाले बताउनुभयो । तर विधेयकमा संचार माध्यम र संचारकर्मीहरूलाई दण्ड जरिवनादेखि जेल सजायसम्मको प्रवाधन राखिएको उहाँले दाबी गर्नुभयो ।
संचार माध्यम र पत्रकारहरूमाथि नियमन गर्ने भन्दा नियन्त्रण गर्ने सोचबाट विधेयक आएकोले तत्काल पुनर्लेखन गर्नुपर्ने रानाले बताउनुभयो । सरोकारवाला पक्षसँगको छलफलपछि मात्रै विधेयक ल्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। यही अवस्थामा विधेयक स्वीकृत भए थप आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।
-थाहाखबर