हुम्लामा पुनः उडान शुरु

  ।   २०७७ मंसिर २३, मंगलवार ०७:२०


हुम्ला । नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि सोमबारदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।

दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो । यस्तै वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताउनुभयो । अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर रु ६ हजार ३०० रहेको छ भने नेपालञ्जदेखि हुम्लाका लागि रु सात हजार भाडादर कायम गरेको उहाँले बताउनुभयो । नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर रु दश हजारभन्दा बढी लिने गरेका छन् ।

नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ । हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने भएको छ । रासस

Next Post

सन् २०३२ को ओलम्पिकका लागि क्वीन्सल्यान्डले दाबी गर्ने

२०७७ मंसिर २३, मंगलवार ०७:२०
सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ । कोरोनाभाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका अधिकारीहरुले बताएका छन् । राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले सोमबार ओलम्पिक […]