भेरी अस्पतालमा प्रारम्भिक चरणको आपतकालीन स्वास्थ्य सेवा निःशुल्क

शनिबार र आइतबार अस्पतालको इमरजेन्सीमा आएका ४६ मध्ये २५ ले निःशुल्क सेवा लिए

  ।   २०७७ कार्तिक ९, आईतवार १३:३४

भेरी अस्पतालले प्रारम्भिक आपतकालीन सेवा निःशुल्क गरेको सूचना र आपतकालीन कक्षमा निःशुल्क उपचार पाइरहेका सेवाग्राहीहरु । फोटो : गुड न्युज

के तपाईले कसैलाई दुर्घटनामा परेको देख्नु भएको छ ? अस्पतालसम्म लगेर तत्कालै उपचारको सेवा गर्ने मन भए पनि पैसाकै अभावमा अलपत्र छोडेर तर्किने गर्नु भएको छ ।

अब कसैले पनि पैसा नभएकै कारण आपकालीन सेवाबाट बञ्चित हुनु पर्नेछैन । भेरी अस्पताल नेपालगन्जले पैसा नभएका जोसुकै व्यक्तिले तत्कालै स्वास्थ्य सेवा निःशुल्क गरेको छ ।

प्रारम्भिक आकस्मिक उपचार र परीक्षण वापत लाग्ने लाग्ने सबै खर्च अस्पतालबाटै हुने सेवा सुरु भइसकेको छ ।

१ कार्तिक शनिबारबाट सेवाग्राहीले भेरी अस्पतालबाट यस्तो सेवा पाउन थालेका छन् । भेरीमा शनिबार र आइतबार २५ जनाले निःशुल्क उपचार पाएको इमरजेन्सीमा कार्यरत एचए राजु महताराले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई दिनमा इमरजेन्सीमा सेवा लिन आएका ४६ जना बिरामीमध्ये सेवा प्रारम्भ भएकै दिन पहिलो दिन १८ र दोस्रो दिन ७ जनाले निःशुल्क सेवा लिएका छन् ।

‘दुर्घटनामा परेका, दमरोगी, जलेका, नाकबाट रगत आएका र धेरै जसो त ज्वरो आएका बिरामीले सेवा लिएका थिए’, एचए महताराले भन्नुभयोे, ‘भिडियो एक्सरे, एक्सरे र सिटी स्क्यान पनि निःशुल्क गरेका छौं । रगत, दिशा, पिसाब त धेरै जनाको निःशुल्क परीक्षण भएको छ ।’

इमरजेन्सीमा आएका व्यक्ति कतिले आफूसँग पैसा छैन भनेर उपचार गरेका छन् । कति त स्थानीय तहबाटै विपन्न भएको सिफारिस लिएर आएका थिए । कतिलाई उपचारको क्रममा स्वास्थ्यकर्मीले नै उनीहरुको अवस्था हेरेर निःशुल्क गरेको बताउनुभयो ।

विगतमा पनि भेरी अस्पतालमा उपचार गर्न आउने विपन्न व्यक्तिलाई इमरजेन्सीमा निःशुल्क उपचार हुन्थ्योे । त्यतिबेला सामाजिक सुरक्षा इकाइमार्फत उपचार गर्न अलि झन्झटिलो थियो ।

त्यसैले पाउने पर्ने सबै व्यक्ति सेवाबाट बञ्चित थिए ।

संघीय सरकारको नीति अनुरुप नै अस्पतालले १ कार्तिकदेखि विपन्न, पैसा नभएका र बेवारिसे अवस्थाका व्यक्तिलाई प्रारम्भिक आपतकालीन सेवा सबै निःशुल्क गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाशबहादुर थापाले बताउनुभयो ।

‘अस्पतालको इमरजेन्सीमा उपचार गर्न आएको व्यक्ति पैसा नभएकै कारण कोही पनि स्वास्थ्य सेवाबाट अब बञ्चित हुनु पर्दैन ।

त्यस्ता व्यक्तिलाई अस्पतालमा उपलब्ध औषधिहरु र तत्काल आवश्यक सम्पूर्ण परीक्षण पनि निःशुल्क हुन्छ’, थापाले प्रष्ट पार्नुभयोे, ‘त्यो व्यक्तिलाई वार्डमा भर्ना गरेपछि भने लागेको शुल्क तिर्नुपर्छ ।’

विगतमा कोही व्यक्ति दुर्घटना हुन्थ्यो । नचिनेकै व्यक्तिले तत्कालै इमरजेन्सीमा ल्याएर उपचार गर्न सघाउँथे ।

यसरी लिएर आउने व्यक्ति घाइतेको नातेदार र चिनेजानेको व्यक्ति नभएर सेवा गर्ने व्यक्ति हुन्थ्यो । पैसा तिर्नुपर्ने भए पनि त अस्पतालमा छोडेर जान्थे । खासगरी दुर्र्घटनाका घाइते अलपत्र पर्थे ।

अब बिरामी वा घाइतेलाई जोसुकैले अस्पतालको इमरजेन्सीमा ल्याउँदा पनि बिरामीले निःशुल्क सेवा पाउनेछन् । ‘विगतमा सामाजिक सुरक्षा इकाईबाट निःशुल्क गर्ने गरेका थियौं । अब त घोषित नै भयो । अस्पताल पुगेको जोसुकै पैसा नहुने व्यक्तिले सेवा पाउँछन्’, प्रमुख थापाले प्रष्ट पार्नुभयोे ।

भेरी अस्पतालको इमरजेन्सीमा १६ वटा मात्र शैया छन् । कोरोना कहर र दशैं लागेका कारण भने अहिले बिरामीको त्यत्ति धेरै चाप छैन । अरु समयमा भने इमरजेँसीमा बिरामीको चाप निकै हुने गरेको छ ।

सरकारले प्रारम्भिक आपतकालीन सेवा भेरीलगायत देशका संघीय सरकार मातहत रहेका १५ वटा अस्पतालमा प्रारम्भिक चरणको स्वास्थ्य सेवा निःशुल्क गरेको छ ।

लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा जुम्ला जिल्ला अस्पताल र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा जिल्ला अस्पतालमा यो सेवा निःशुल्क गरिएको छ ।

गुडन्यूज साप्ताहिकबाट

 

Next Post

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

२०७७ कार्तिक ९, आईतवार १३:३४
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाण्डौ चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज हुनुभएको हो । स्वास्थ्यमा समस्या आएपछि ३० गते परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । १० दिनको अस्पताल बसाई […]