न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

  ।   २०८३ कार्तिक १६, आईतवार १२:५०
प्रमिला चौधरी 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयमा सुधार र परिवर्तन सम्भव नहुने बताउनुभएको छ ।

एक कार्यक्रममा अध्यक्ष लिङ्देनले नेपालको न्यायालयमा व्यापक सुधार र संरचनागत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो । उहाँले न्यायालयको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत गम्भीरतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले महाभियोगको विषयवस्तु, अभियोगको प्रकृति र सम्बन्धित व्यक्तिलाई हेरेर मात्रै आफ्नो पार्टीले धारणा बनाउने स्पष्ट पार्नुभयो ।

उहाँले महाभियोग व्यक्तिविशेषमाथि लगाइने प्रक्रिया भएकाले त्यसले मात्रै समग्र न्यायालयमा सुधार ल्याउन नसक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “महाभियोग भनेको व्यक्तिमाथि आउने कुरा हो । त्यतिले नै न्यायालयमा सुधार र परिवर्तन हुने भन्ने होइन । के विषय र के अभियोग लगाएर आउने हो, कोमाथि आउने हो, त्यो हेरेर छलफल गरेर हामी आफ्नो धारणा बनाउँछौँ ।”

उहाँले न्यायालयको वर्तमान कार्यशैली र अवस्थाबाट मुलुकले अपेक्षित निकास पाउन नसक्ने टिप्पणी गर्दै न्यायिक प्रणालीमै व्यापक सुधार र परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

“न्यायालयमा सुधार र परिवर्तन जरुरी छ । अहिलेको न्यायालय जसरी चलिरहेको छ, यसबाट निकास निस्किँदैन,” उहाँले भन्नुभयो ।

अध्यक्ष लिङ्देनको अभिव्यक्तिले न्यायाधीशमाथि महाभियोग लगाउने विषयसँगै समग्र न्यायालयको संरचना, कार्यशैली र पुनर्गठनबारे पनि राजनीतिक बहस आवश्यक रहेको संकेत गरेको छ ।