सबिता चन्द
नेपालगन्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको चौविसौं साधारण सभा तथा आठौं अधिवेशनले साहित्यकार मिना बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
हिजो असोज १७ गते शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’, डा. चक्रप्रसाद अधिकारी र भरतबहादुर रानाभाटलाई चयन गरेको हो। त्यसैगरी महासचिवमा सुन्दर गुरुङ, सचिवमा पुष्पमणि प्रधान र कोषाध्यक्षमा तारा रोकाया सर्वसम्मत चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा चन्द्रावती अधिकारी, सतानन्द उपाध्याय, पुष्पा सुवेदी, कविराज रेग्मी, मिना ढकाल, अन्तरिक्ष देवकोटा, पूर्ण समीर महतारा, दिपेन्द्रबहादुर सिंह, देवलाल चौलागाईं, नरुल हसन राई र खगेन्द्रप्रसाद नेपाल रहनु भएको छ ।
अधिवेशनले साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाली साहित्यको विकासमा भेरी क्षेत्रले पुर्याउँदै आएको योगदानलाई थप संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। यसै अवसरमा साहित्यकार हरिप्रसाद तिमिल्सिनालाई नागरिक अभिनन्दनसहित विशेष सम्मान प्रदान गरिएको थियो । साहित्य क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै अभिनन्दन तथा सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू वाणी श्री मल्ल/बखतबहादुर मल्ल, महेन्द्रप्रसाद गिरी, पंकजकुमार श्रेष्ठ, भीम/भरत रानाभाट र पुष्पमणि प्रधानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि कृष्णप्रसाद घिमिरे तथा कार्यक्रमका अध्यक्ष इन्द्रबहादुर बस्नेतले सम्मान गर्नुभएको थियो।
अधिवेशनका क्रममा साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । वक्ताहरूले साहित्य समाज केवल साहित्यिक गतिविधि गर्ने संस्था मात्र नभई समाजको चेतना, संस्कृति, भाषा र सिर्जनशीलतालाई जीवन्त राख्ने महत्वपूर्ण साझा मञ्च भएको धारणा व्यक्त गरेका थिए ।
नवनिर्वाचित कोषाध्यक्ष तारा रोकायले आफूलाई कोषाध्यक्षजस्तो गरिमामय जिम्मेवारीमा विश्वास गरेर सर्वसम्मत चयन गरेकोमा भेरी साहित्य समाजका सम्पूर्ण अग्रज साहित्यकार, स्रष्टा, प्रतिनिधि तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत सम्मानका रूपमा मात्र नभई संस्थाप्रतिको जिम्मेवारी र विश्वासका रूपमा ग्रहण गर्दै भेरी क्षेत्रको साहित्यिक गतिविधिलाई थप गतिशील बनाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भेरी साहित्य समाजको संस्थागत विकास, नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने कार्यक्रम, स्रष्टाको सम्मान तथा सिर्जनाको संरक्षण र प्रवर्द्धनमा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।
चौविसौं साधारण सभा तथा आठौं अधिवेशनले भेरी क्षेत्रको साहित्यिक यात्रामा नयाँ नेतृत्वसँगै नयाँ ऊर्जा थपिएको सन्देश दिएको छ । अनुभवी साहित्यकारको मार्गदर्शन र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समाजलाई अझ सक्रिय, समावेशी र प्रभावकारी साहित्यिक संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।


