सबिता चन्द
नेपालगन्ज । कुनै कर्मचारीको करार थपिएन भने पहिलो निशाना भेरी अस्पताल । कुनै कर्मचारीमाथि कारबाही भयो भने विरोधको केन्द्र भेरी अस्पताल । टेन्डर नपाएका व्यवसायीको आक्रोश पनि भेरी अस्पतालमाथि । चन्दा नदिएको बहानामा धम्की पनि भेरी अस्पताललाई । लाइनमा घण्टौँ कुर्नुपरेको सेवाग्राहीको रिस पनि भेरी अस्पतालमै । कर्मचारी, कर्मचारीबीचको मनमुटाव, राजनीतिक दबाब, दलालको चलखेल, निजी स्वास्थ्य संस्थाको प्रतिस्पर्धा र सामाजिक सञ्जालको मिडियाबाजी, सबैको निशाना किन भेरी अस्पताल नेपालगञ्ज ?
यो केवल एउटा अस्पतालको कथा होइन । यो पश्चिम नेपालका लाखौँ नागरिकको स्वास्थ्य अधिकार, सार्वजनिक संस्थामाथिको विश्वास र राज्यको स्वास्थ्य प्रणालीमाथि उठेको गम्भीर प्रश्न हो ।
१३६ वर्षअघि एउटा सानो औषधालयका रूपमा सुरु भएको भेरी अस्पताल आज ३५० शय्याको संघीय अस्पताल बनेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लाखौँ नागरिकका लागि यो अन्तिम भरोसाको अस्पताल हो । यहाँ दैनिक हजारौँ बिरामी उपचारका लागि पुग्छन् । विपन्न नागरिक, दुर्घटनाका घाइते, गर्भवती महिला, नवजात शिशु, सिकलसेलका बिरामी, मिर्गौला रोगी र जटिल शल्यक्रियाका बिरामीसम्मको जीवन यही अस्पतालले थामेको छ ।
भेरीको विरासतभन्दा विवाद किन ठूलो बनाइँदैछ ?
नेपालगञ्जमा एउटा प्रश्न दिनदिनै गहिरिँदै गएको छ, भेरी अस्पताललाई नियोजित रूपमा विवादको केन्द्र बनाइँदैछ किन ?
स्रोतहरूका अनुसार अस्पतालमा प्रशासनिक निर्णय हुँदा त्यसलाई व्यक्तिगत प्रतिशोधको विषय बनाउने प्रवृत्ति बढेको छ । करार नथपिएका कर्मचारीदेखि जिम्मेवारी फेरिएका कर्मचारीसम्म, कसैले असन्तुष्टि पोख्नुपर्यो भने सार्वजनिक रूपमा भेरीमाथि आरोप लगाउने क्रम बढेको देखिन्छ । अस्पतालभित्रको सामान्य प्रशासनिक निर्णय पनि सामाजिक सञ्जाल र समाचारको शीर्षक बन्न थालेको छ । प्रश्न उठ्छ, गल्ती गर्ने कर्मचारीमाथि कारबाही हुनु संस्थाको कमजोरी हो कि सुशासनको संकेत ?
भेरीका उपलब्धि किन समाचार बन्दैनन् ?
विवादको चर्चा धेरै हुन्छ, तर उपलब्धिको चर्चा कम । भेरी अस्पतालले पछिल्ला वर्षमा पश्चिम नेपालमै पहिलो पटक धेरै महत्वपूर्ण सेवा विस्तार गरेको छ । अस्पतालमा अत्याधुनिक सीटी स्क्यान सेवा पुनः सञ्चालन गरिएको छ । लामो समय बन्द रहेको सेवा पुनः सुरु भएपछि बिरामीले निजी केन्द्र धाउनुपर्ने बाध्यता घटेको छ ।
मिर्गौला रोगीका लागि डायलाइसिस सेवा चार मेसिनबाट बढाएर १० मेसिन पुर्याइएको छ। यसले दैनिक धेरै बिरामीलाई सेवा दिन सम्भव भएको छ ।
थारु समुदायमा बढी देखिने सिकलसेल एनिमिया उपचारमा भेरी अस्पताल राष्ट्रिय सन्दर्भमा उदाहरण बनेको छ । यहाँ विशेष वार्ड स्थापना गर्ने निर्णय भएको छ, नवजात शिशुको निःशुल्क सिकलसेल परीक्षण सुरु गरिएको छ, र सिकलसेलका बिरामीका लागि विशेष उपचार प्रणाली विकास गरिएको छ ।
अस्पतालले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरेर मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । पश्चिम नेपालका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्ने दिशामा यो ऐतिहासिक कदम मानिएको छ ।
भेरीको सेवा : गरीबको आशा
भेरी अस्पतालमा उपचार गराउन आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर परिवारका हुन्छन् । सामाजिक सेवा इकाइमार्फत विपन्न नागरिकलाई सहुलियत र निःशुल्क उपचार उपलब्ध गराइन्छ । आकस्मिक सेवा २४ घण्टा सञ्चालन हुन्छ । आईसीयू, एनआईसीयू, प्रसूति सेवा, शल्यक्रिया, मानसिक स्वास्थ्य, एआरटी, जेरियाट्रिक सेवा लगायतका दर्जनौँ सेवा एउटै अस्पतालबाट उपलब्ध छन्।
यति ठूलो जिम्मेवारी बोकेको अस्पतालमा दैनिक भीड हुनु स्वाभाविक हो । भीडसँगै असन्तुष्टि पनि आउँछ । तर व्यवस्थापन सुधारको माग र अस्पतालको चरित्र हत्या गर्ने अभियान एउटै कुरा होइन ।
निजी अस्पताल, दलाल र प्रतिस्पर्धाको प्रश्न
नेपालगन्ज स्वास्थ्य सेवाको केन्द्र हो । सरकारीसँगै निजी अस्पताल पनि छन् । सार्वजनिक अस्पताल बलियो हुँदा निजी क्षेत्र प्रभावित हुन्छ भन्ने बहस नयाँ होइन । अस्पताल स्रोतहरू भन्छन्, ´केही दलालले बिरामीलाई सरकारी अस्पतालबाट बाहिर लैजाने प्रयास गर्ने गरेका घटना पनि छन् ।`
यदि यस्तो गतिविधि छ भने त्यसलाई रोक्नु राज्यको दायित्व र हाम्रो पनि दायित्व हो ।` तर दलालको गतिविधिलाई आधार बनाएर अस्पताललाई नै बदनाम गर्नु कसको हितमा छ ?
‘सेटिङ’ को आरोप : सत्य कि अफवाह ?
भेरी अस्पतालमाथि अर्को आरोप पनि बारम्बार दोहोरिन्छ, पत्रकारका श्रीमती, नेताका आफन्त, पहुँचवालाका मानिसले सहज सेवा पाउँछन् ।
यो आरोप गम्भीर छ । तर अहिलेसम्म यस्ता आरोप पुष्टि गर्ने आधिकारिक प्रमाण सार्वजनिक भएको छैन । यदि सेटिङ छ भने छानबिन होस् । यदि छैन भने अफवाह फैलाएर संस्थामाथि अविश्वास सिर्जना गर्नेहरू पनि जवाफदेही बनून् ।
सार्वजनिक संस्थामाथि प्रश्न उठाउनु नागरिक अधिकार हो । तर प्रश्न तथ्यमा आधारित हुनुपर्छ ।
मिडियाबाजी कि खोजी पत्रकारिता ?
भेरी अस्पतालसँग सम्बन्धित हरेक विवाद केही घण्टामै सामाजिक सञ्जाल र अनलाइन समाचारमा फैलिन्छ । तर अस्पतालले हजारौँ बिरामीको सफल उपचार गरेको समाचार भने विरलै मुख्य शीर्षक बन्छ ।
खोजी पत्रकारिताको उद्देश्य सत्य उजागर गर्नु हो । प्रमाणबिनाको आरोप, एकपक्षीय स्रोत र व्यक्तिगत रिसलाई समाचार बनाउनु पत्रकारिताको धर्म होइन ।
भेरी कमजोर भयो भने हार्ने को ?
सबैभन्दा ठूलो हार गरीब नागरिकको हुन्छ । रुकुम, जाजरकोट, बर्दिया, दैलेख, डोल्पा, हुम्ला, मुगु, बझाङ, बाजुरा, अछाम, कैलाली र बाँकेका हजारौँ बिरामीको उपचारको पहिलो रोजाइ भेरी अस्पताल हो । आर्थिक अवस्था कमजोर भएकाले निजी अस्पताल धान्न नसक्ने नागरिकका लागि भेरी नै जीवन र मृत्युबीचको आशा हो।
यदि यही अस्पताल निरन्तर विवाद, दबाब र अविश्वासको घेरामा पारियो भने सबैभन्दा ठूलो क्षति जनतालाई हुन्छ।
निष्कर्ष : भेरी बचाउनु भनेको जनताको भरोसा बचाउनु हो
भेरी अस्पताल न कुनै राजनीतिक दलको हो, न कुनै कर्मचारीको, न कुनै व्यवसायीको । यो पश्चिम नेपालका लाखौँ नागरिकको साझा सम्पत्ति हो ।
अस्पतालमा कमजोरी छन् भने सुधार गरौँ । अनियमितता छन् भने अनुसन्धान गरौँ । दोषीलाई कारबाही गरौँ । तर व्यक्तिगत रिस, राजनीतिक प्रतिशोध, आर्थिक स्वार्थ वा मिडियाबाजीका लागि १३६ वर्षको विरासत बोकेको भेरी अस्पताललाई बारम्बार आक्रमणको निशाना बनाउनु न्याय होइन ।
भेरीमाथि उठ्ने हरेक प्रश्नको उत्तर तथ्यले दिनुपर्छ, अफवाहले होइन । किनकि भेरी अस्पतालको प्रतिष्ठा जोगिनु भनेको पश्चिम नेपालको जनस्वास्थ्यको भरोसा जोगिनु हो।


