प्रारम्भिक बालविकास कक्षा व्यवस्थापनका लागि सामग्री हस्तान्तरण

  ।   २०८२ असार १२, बिहीबार १०:३३

नेपालगन्ज। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका सातवटा विद्यालयलाई प्रारम्भिक बालविकास (ईसीडी) कक्षा व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरेको छ ।

बालबालिकाको गुणस्तरीय सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बालिका शसक्त परियोजनाअन्तर्गत प्रत्येक विद्यालयलाई एक लाख ७७ हजार ५०६ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामग्रीहरू विद्यालयहरूमा बालमैत्री सिकाइ वातावरण सृजना गर्न, बालबालिकालाई सिकाइप्रति आकर्षित गराउन र प्रारम्भिक बालविकास सुदृढ गर्न उपयोग गरिने बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लमिछानेले बताउनुभयो ।

क्लबका उपनिर्देशक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम संयोजक लमिछानेले औपचारिक रूपमा विद्यालयहरूलाई सामाग्री हस्तान्तरण गर्दै बालबालिकाकालागि प्रविधि र खेलमुखी सिकाइ वातावरण निर्माण गर्न यस्ता पहल अत्यावश्यक रहेको बताउँदै, ईसीडी कक्षा व्यवस्थापनका सामग्रीहरूले सिकाइमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूमा स्मार्ट टेलिभिजन, खेलकुद सामग्री, शैक्षिक चार्टहरू, पुस्तक राख्ने र्याक, जुत्ता राख्ने र्याक, क्यारेमबोर्ड, विभिन्न चित्रकला सामाग्री, अक्षर, बालबालिकाको लागि फर्निचर, कार्पेट र तकिया लगायतका सामग्रीहरू रहेका छन् । यी सामग्रीहरू विद्यालयमा सुरक्षित, समावेशी र आकर्षक सिकाइ वातावरण सृजना गर्न उपयोग गरिने जनाईएको छ ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकीले सामग्री प्रदान गरिएका विद्यालयहरूमा प्रभावकारी रूपमा सामग्रीको प्रयोग सुनिश्चित गर्न र सुरक्षित कक्षा व्यवस्थापनका लागि यस्ता सामग्रीहरू प्रदान गरिएको बताउनुभयो । साथै, विद्यालयहरूले सामग्रीको दीगो प्रयोग र नियमित मर्मत तथा प्रयोग मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्रिशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेश गुप्ताले क्लब र परियोजना टिमप्रति आभार व्यक्त गर्दै सामग्रीहरूले कक्षा व्यवस्थापनमा सहजता ल्याउने र विद्यार्थीको सिकाइ उपलब्धिमा महत्वपूर्ण टेवा पुरयाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य गर्दै सिकाइ वातावरणलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

सामग्री प्राप्त गरेका विद्यालयहरूमा बढैयाताल गाउँपालिका वडा नं. ९, जनता नगरस्थित मुक्त कमैया आधारभूत विद्यालय, बढैयाताल गाउँपालिका वडा नं. ७, पडरियास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुलरिया नगरपालिका वडा नं. ११, डल्लापुरस्थित गौरीशंकर माध्यमिक विद्यालय, गुलरिया नगरपालिका वडा नं. ३, सिर्खैयास्थित जानकी माध्यमिक विद्यालय, गुलरिया नगरपालिका वडा नं. १, कमलपुरस्थित त्रिशक्ति माध्यमिक विद्यालय, गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुलरिया नगरपालिका वडा नं. १, खैरापुरस्थित नेपाल राष्ट्रिय सम्भूशरण माध्यमिक विद्यालय रहेका छन् ।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यालयहरूले शैक्षिक रूपले समृद्ध वातावरण निर्माणमा परियोजना टिमले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता नवप्रवर्तनात्मक सहयोगका लागि अनुरोध गरेका थिए ।

Next Post

मानवबेचविखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सामाग्री हस्तान्तरण

२०८२ असार १२, बिहीबार १०:३३
नेपालगन्ज। बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । […]