नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको पदाधिकारी टिम बुधवार बाँके आउने भएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड सहित बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , उपाध्यक्ष पम्फा भुसाल , अग्नि सापकोटा , उपमहासचिव वर्षमान पुन , जर्नादन शर्मा , मातृका यादव सहितको टोली बाँके आउन लागेको माओवादी केन्द्र बाँके जिल्ला इन्चार्ज पूर्णा कुमारी सुबेदीले जानकारी दिनुभयो ।
बुधवार दिउसो कोहलपुरको १३ बिगाहा मैदानमा हुने उक्त कार्यक्रम लाई प्रचण्ड लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । बाँके आएका नेताहरूले सहिद तथा बेपत्ता परिवार सँग समेत अन्तरक्रिया गर्ने माओवादी बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डेले जानकारी दिनुभयो । बिहीवार नेपालगञ्जमा नागरिक संवाद कार्यक्रम गरिने संयोजक पाण्डेले बताउनु भयो ।
दोस्रो प्रदेश सम्मेलनको तयारी पुरा
बुधवार देखी कोहलपुरमा सुरु हुने अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दोस्रो प्रदेश सम्मेलनको तयारी पुरा भएको छ । मङ्गलवार कोहलपुरमा पत्रकार भेटघाटको आयोजना गरि सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रदेश इन्चार्ज दामा शर्माले तयारी पुरा गरिएको जानकारी दिनुभयो । उहाँले सम्मेलनमा ६ सय ६० बढि प्रतिनिधि सहभागी हुने र यसले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।



