क्रान्तिकारी पार्टीहरुको एकता आजको एतिहासिक आवश्यकता: नेता सुवेदी

  ।   २०८१ जेष्ठ १४, सोमबार १८:१२

नेपालगन्ज । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज प्रेम सुवेदी (प्रमोद)ले नेपालको विद्यमान राजनीतिक अवस्थामा क्रान्तिकारी पार्टीहरुको एकता ध्रुविकरण आजको ऐतिहासिक आवश्यकता रहेको बताउनुभएको छ ।

मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सुवेदीले उक्त कुरा बताउनुभएको हो ।

“नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादको वाहुल्यता रहेको विद्यमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा ध्रुविकरण आजको ऐतिहासिक आवश्यकता हो ।” नेता सुवेदीले भन्नुभयो, “यस्तो एकताले क्रान्तिकारीहरु बिचको एकता र ध्रविकरणलाई अझ वृहत् बनाउन संकल्प गर्दै नेपाली क्रान्तिको गहनतम् कार्यभारलाई पुरा गर्न सकिने आशा र विश्वास गर्न सकिन्छ ।”

देश आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा अत्यन्तै संकटग्रस्त रहेको भन्दै उहाँले त्यसको समाधानका लागि देशभक्त तथा क्रान्तिकारी शक्तिबिच एकता र ध्रुविकरण गरेर देशको राष्ट्रिय स्वाधिनताको पक्षमा र सम्वृद्धिको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता सुवेदीले शिक्षा तथा स्वास्थ्यजस्ता सेवामूलक क्षेत्रमा व्यापारीकरण गरेर अत्यन्तै विकृति फैलिएको भन्दै सुधार गर्नुपर्ने बताउनुभयो । छिमेकी देशले नेपालको कैयौं भू–भागहरु अतिक्रमण गरिरहेको अवस्थामा त्यसको विरुद्धमा सबै देशभक्त तथा क्रान्तिकारी शक्तिहरु एकठाउँमा भएर दवाव सृजना गर्नुपर्ने उहाँको भनाइ थियो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेले तत्कालिन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत)बिच भएको पार्टी एकिकरणपश्चात् जिल्लामा एकता अधिवेशन गरी जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको घोषणाका लागि आइतबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

पार्टी एकिकरण पछि बाँकेमा सम्पन्न गरिएको एकता अधिवेशनबाट कृष्णबहादुर शाह (परिवर्तन)को संयोजकत्वमा ६५ सदस्यीय जिल्ला संगठन समिति गठन गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ६ नं. प्रदेश सह–संयोजक दिपकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सह–संयोजकमा गुणनिधि आचार्य (कुशल), प्रकाश आचार्य र हरिकृष्ण न्यौपाने रहनुभएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच २०८० वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको थियो भने २०८१ वैशाख १९ गते नेकपा (मशाल)सँग पार्टी एकिकरण भएको थियो ।

पार्टी एकिकरणपश्चात् केन्द्र र प्रदेश समितिहरुमा एकता अधिवेशनमार्फत् कमिटीहरु बनिसकेका छन् भने बाँके जिल्लामा सोमबार घोषणा गरिएको हो ।

Next Post

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री

२०८१ जेष्ठ १४, सोमबार १८:१२
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामूहिक प्रयास र सहकार्यबाट राजनीति व्यवस्था परिवर्तन […]