प्रहरी उपरीक्षक बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनको गम्भीर ध्यानाकर्षण

  ।   २०८० चैत्र २३, शुक्रबार १६:२४

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस सेन्टर नेपाल बाँके र प्रगतिशिल पत्रकार संघ बाँकेले शुक्रबार संयुक्त रुपमा विज्ञप्ती जारी गराउनु भएको हो ।

आफुसँग सम्बन्धित समाचार प्रकाशित भएको बिषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याउनु भएको थियो । कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको कडा शब्दमा भत्सर्ना गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ, त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो, पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गर्दछौं ।’

समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग गरिएको छ । ‘अन्यथा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मानको पक्षमा र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने छौं,’ विज्ञप्तीमा भनिएको छ ।

जारी विज्ञप्तीमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्य र प्रगतीशिल पत्रकार संघ, बाँकेका संयोजक तिलक गाउँलेले हस्ताक्षर गर्नुभएको छ । यसअघि बिहीबार नेपालगन्जस्थित पत्रकारसम्वद्ध संघ, संगठनका प्रतिनिधि तथा अग्रज पत्रकारले दुर्व्यवहार प्रति चिन्ता र चासो ब्यक्त गरेका थिए ।

Next Post

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

२०८० चैत्र २३, शुक्रबार १६:२४
गोरखा, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकोको छ । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गर्नुभएको हो । साे अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको […]