गाउँमा लुटपाट गर्ने ३ जना शङ्कास्पद लुटेरा पक्राउ

  ।   २०८० आश्विन २, मंगलवार २२:०९

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

“आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको आशङ्कामा तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेका छौँ, उनीहरूबाट लुटिएको सामान फेला परेको छैन, सोधपुछ र अनुसन्धान गर्दैछौं ।” प्रहरी प्रवक्ता डाँगीले भन्नुभयो । राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति हतियारसहित आएको १०–१२ जनाको समूहले स्थानीय धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद र दुई वटा खसी र एउटा बोका लुटेर लगेका थिए ।

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुर  लामिछाने मगरले बताउनुभयो ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित बेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारुले जानकारी दिनुभयो । २०/३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताउनुभयो । गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।

Next Post

संविधान कार्यनयन गरेरै जनताको परिवर्तन गर्ने अभियानमा सरकार: प्रधानमन्त्री प्रचण्ड

२०८० आश्विन २, मंगलवार २२:०९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ । सरकारले सुशासन, समृद्धि र सामाजिक […]

सम्बन्धित शीर्षक