बाँके । बाँकेको डुडुवा गाँउपालिकाको सरकारी गाडी चरम रुपमा दुरुपयोग भएको भेटिएको छ । डुडुवा गाँउपालिकाकी उपाध्यक्ष साहिदा बानोले आफ्नो निजि कामकाजका लागि सरकारी गाडीको प्रयोग गर्दै आईरहेको भेटिएको छ । उपाध्यक्ष बानो शनिबार दिउँसो निजि कामकाजका लागि सरकारी गाडी प्रयोग गरि नेपालगन्जका विभिन्न ठाउँमा पुगेको देखेपछि पत्रकाहरुले प्रत्येक्ष फिटो खिची समाचार बाहिर ल्याएका छन् ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न नपाइने कानुनले बताउछ । कार्यालयको प्रयोजन बाहेक निजि गाडी प्रयोग गर्न सम्बन्धित निकायबाट अनुमति आवश्यक हुन्छ । अर्थात जिल्ला प्रशासन कार्यालयबाट पास लिने प्रवधान छ । तर यो नियमको ध्वज्जी उडाउदै उपाध्यक्ष बानोले सरकारी गाडी प्रयोगमा ल्याउनु भएको छ । उपाध्यक्ष बानोले कुनै पनि निकायबाट अनुमति नलिएरै सरकारी गाडी सार्वजनिक बिदाको दिन पनि कुदाइरहनु भएको छ ।
डुडुवा गाँउपालिकाको बा १ झ ४९९४ नम्बारको सेतो प्लेटको सरकारी गाडी नेपालगञ्ज स्थित नेपाल टेलिकमको कार्यालय अगाडी सडकको छेउमा पार्किङ्गमा रहेको दृश्य देखेपछि सञ्चारकर्मीको चासोको विषय बनेको थियो । सो गाडी उपाध्यक्ष बानोको अनुमतिमा उनलाई लिएर नेपालगञ्ज एक सभामा ल्याएको गाडी चालकले जानकारी दिए । कार्यालयको समय बाहेक अन्य समयमा सम्बन्धित निकायको अनुमति लिएर मात्र चलाउन पाउने प्रवधान बारे चालक आफु ज्ञात रहेको स्विकार गर्छन् ।
यता उपाध्यक्ष बानो मिडियाकर्मीलाई प्रतिक्रिया दिदैँ जनताको कामको लागि गाडी प्रयोग गरेको बताउनु भयो । चालकले उपाध्यक्षलाई सभागोष्ठीको बहानामा जोगाउन खोजपनि उहाँ आफैले व्यक्तिगत कामका लागि सरकारी गाडी प्रयोग गरेको आफैले पोल खोल्नु भयो । उहाँले भन्नु भयो ‘शनिवार हो, जनताको कामको लागि युज गर्न मिल्छ ।’
असिन पसिना हुनु भएकी उपाध्यक्ष बानोले आफ्नै पोल खोल्दै थप्नु भयो, ‘म हस्पिटल आएको छु, आफ्नो दाँत पनि चेकजाँच गराएकी छु । एक जना हाम्रो मान्छे सिरियस हुनुभएको छ । अब हामी संग साधन छैन, टाढाबाट कसरी आउने ?’
शनिबार सरकारी गाडी चलाउन तपाई संग अनुमति छ भन्ने प्रश्नको जवाफमा उपाध्यक्ष बानोले पुनः भन्नू भयो, ‘अनुमति छैन ! आफ्नो एरियामा चलाउन मिल्छ । हामी बाहिर थोडै गएछु । बाहिर जिल्लामा गएपछि अनुमति लिनुपर्छ ।’ थप प्रश्न गर्ना साथ उपाध्यक्ष बानोले जवाफ नदिएरै त्यहाँ एक मिनेट पनि उभिनु भएन ।
यता आन्तरिक श्रोतका अनुसार उपाध्यक्ष बानोको विगत देखि नै यहि रवैया छ । उनी घरेलु वसारपसारका लागि पनि सरकारी गाडी कै प्रयोग गर्दै आइरहेको श्रोतले दावी गरेको छ । सो श्रोतका अनुसार उपाध्यक्ष बानो व्यक्तिगत कामका लागि नेपालगञ्ज स्थित एक डेन्टल क्लिनिकमा आउनु भएको थियो । उहाँले जनताको कामको लागि भनेर बहाना गरे पनि आफ्नै दाँतको समस्याका कारण सरकारी गाडीमा नेपालगञ्ज आउनु भएको थियो ।
यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । बाँकेमा प्राय कर्मचारी देखि कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको पाइन्छ ।
बाँकेमा बिदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारबाही गर्न ट्राफिक प्रहरीले भने वेवास्ता गरेको छ । चेकिङ्गका क्रममा समेत ट्राफिक प्रहरीले आमजनतालाई कडाई गरेपनि सरकारी गाडीलाई छाड्ने गरेको छ ।



