बालेनको चर्चित चश्मा : बजारमा थेगिनसक्नु माग, कति पर्छ मूल्य ?

  ।   २०७९ जेष्ठ ३, मंगलवार १५:०६

संवाददाता ।

काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) नेपाली मिडियामा सर्वत्र छाईरहनुभएको छ । मेयरमा उम्मेदवार घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खोजिमा पर्नुभएका उम्मेदवार हुनुहुन्छ, बालेन शाह ।

मतगणना सुरु भएपछि सत्ता गठबन्धनका सिर्जना सिंह र एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पार्दै निरन्तर अग्रता बनाईरहेकाले उहाँको चर्चा झन चुलिएको छ ।

इन्जिनियर समेत रहनुभएका बालेनलाई उहाँले लगाएको चश्माले पनि चर्चित बनायो । राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् वा मतदातासँग मत माग्न घरदैलो गर्दा होस्, उहाँले चश्मा लगाईरहनुभयो । कतिपयले उहाँको चश्माको तारिफ गरे भने धेरैजसोले आलोचना गरे । भलादमी नदेखिएको, घमण्डीपना झल्किएको भनेर उहाँको चश्मा देखेर आलोचना भएको भएपनि मत भने उहाँले राम्रै बटुल्न सफल भएको हालसम्मको परिणामले देखाएको छ ।

बजारमा उच्च माग

बालेनलाई चर्चित बनाउन भूमिका खेलेको चश्माको माग अहिले बजारमा उच्च छ । यो चश्मालाई ‘मेटल ग्लास’ भनिन्छ । तर, काठमाडौँ र काठमाडौँ बाहिर यो चश्मा खोज्नेहरुले ‘बालेन चश्मा’ भनेर खोज्ने गरेका छन् ।

अहिले बालेनको जस्तै चश्मा किन्न आउने ग्राहकको संख्या उच्च रहेको कोटेश्वर चोक (महादेवस्थान जाने बाटो) मा रहेको चश्मा पसलका व्यवसायी बताउँछन् । काठमाडौँका न्यूरोड, असन र महावौद्धमा पनि बालेनले लगाएको जस्तै चश्मा खोज्ने ग्राहकहरु धेरै पुग्ने गरेका छन् । बालेनको जस्तै चश्मा खोज्ने ग्राहक एकाएक बढ्दा बजारमा मेटल ग्लासको अभाव हुन थालिसकेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना सकिन अझै समय लाग्ने देखिएकाले उच्च माग रहेका क्षेत्रका व्यवसायीहरुले मगाउन सुरु गरिसकेका छन् ।

बालेनले पहिलेदेखि नै यस्तो चश्मा लगाउने भएपनि उहाँले उम्मेदवारी दिएपछि उहाँको चर्चा धेरैतिर चुलियो । बालेनको उम्मेदवारीपछि यो चश्माको पनि सँगसँगै चर्चा बढेकोले माग बढिरहेको रामेछापको मन्थलीस्थित ‘साकुरा चश्मा पसल’ का सञ्चालक सन्तोष मैनाली बताउँनुहुन्छ ।

कति पर्छ मूल्य ?

बालेनले लगाएको जस्तो मेटल ग्लासको मूल्य नेपाली बजारमा खासै महँगो छैन । यो चश्मा ७ सयदेखि ३ हजार ५ सय रुपैयाँ सम्ममा उपलब्ध छ ।

रातो, सेतो, कालो तथा गोल्डेन कलरमा उपलब्ध यो चश्मा सस्तो मूल्यमा राम्रो चश्मा खोज्नेहरुका लागि उपर्युक्त भएको व्यवसायी मैनाली बताउँनुहुन्छ ।            #बालेनको_चश्मा

बीजपाटी डटकमबाट

Next Post

बाँकेको खजुरामा गठबन्धनको कब्जा

२०७९ जेष्ठ ३, मंगलवार १५:०६
बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक ‘तुफान’ अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । बिकले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । […]