सबिता चन्द
नेपालगन्ज । कर्णाली केवल एउटा भूगोल होइन, इतिहास, सभ्यता, भाषा, संस्कृति, संघर्ष र सम्भावनाले भरिएको जीवन्त पहिचान हो । यही पहिचानभित्र लुकेका नागरिकका पीडा, अभाव, आशा, सपना र परिवर्तनका आकाङ्क्षालाई कवितामार्फत अभिव्यक्त गर्दै आउनुभएका कवि राजेन्द्र धितालको नयाँ कविता सङ्ग्रह ‘प्रिय कर्णाली’ को विमोचन तथा साहित्यिक विमर्श कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ ।
बौद्धिक, साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कविता सङ्ग्रहको साहित्यिक महत्त्व, कर्णालीको ऐतिहासिक पृष्ठभूमि, सामाजिक यथार्थ, भाषिक तथा सांस्कृतिक पहिचान र कर्णालीवासीले पुस्तौँदेखि भोग्दै आउनुभएका दुःख, सङ्घर्ष र सम्भावनाका विविध पक्षमाथि गहन विमर्श गरिएको थियो ।
कवि धितालका सिर्जनामा कर्णालीको विकट भूगोल मात्र होइन, त्यहाँका मानिसका जीवन्त कथा, पसिनाले सिञ्चित माटो, अभावसँग जुधिरहेका बस्ती, प्रकृतिको अनुपम सौन्दर्य र परिवर्तनको प्रतीक्षामा रहेका सपनाहरू अभिव्यक्त भएका छन् । उहाँले कवितालाई भावनाको अभिव्यक्ति मात्र नभई समाजको इतिहास, पीडा र यथार्थ बोल्ने सशक्त माध्यमका रूपमा प्रयोग गर्दै आउनुभएको छ ।
जुम्लाको माटोमा जन्मिएर बर्दियासम्म फैलिएको उहाँको जीवनयात्रा आफैँमा सङ्घर्ष, अनुभव र अनुभूतिहरूको लामो शृङ्खला हो । शिक्षण पेसामा आबद्ध रहँदै साहित्य सिर्जनामा निरन्तर समर्पित हुनुभएका धितालका दुई दर्जनभन्दा बढी कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । कर्णालीको भूगोल, जनजीवन र संस्कृतिलाई नजिकबाट अनुभूत गर्नुभएका उहाँका सिर्जनामा स्थानीय जीवनका सूक्ष्म अनुभूतिदेखि राष्ट्रिय चेतनासम्मका विषयले स्थान पाउँदै आएका छन् ।
‘प्रिय कर्णाली’ कविता सङ्ग्रहको एउटा महत्त्वपूर्ण पक्ष कर्णालीको विगतलाई वर्तमानसँग जोड्ने प्रयास हो । कुनै समय नुन लिनकै लागि जुम्लाबाट बर्दियाको राजापुर तथा नेपालगन्जसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका जुम्लीवासीका जीवनका कठिन प्रसङ्गलाई उहाँले कवितात्मक अभिव्यक्ति दिनुभएको छ । नुनको खोजीमा हिँडेका पुर्खाका पाइला, यात्राका असह्य कष्ट, बाटोमा भोग्नुपरेका दुःखद घटना र अभावसँग जुध्दै बाँचेको जीवनलाई कवितामा उतारेर उहाँले एउटा पुस्ताको मौन इतिहासलाई नयाँ पुस्तासमक्ष पुर्याउने प्रयास गर्नुभएको छ ।
यो केवल विगतको स्मरण होइन, विकासका अनेकौँ बहसबीच पनि भौगोलिक विकटता र सामाजिक असमानताको मार खेपिरहेका समुदायको जीवन बुझ्ने साहित्यिक दृष्टिकोणसमेत हो ।
कर्णाली जडीबुटी, जैविक विविधता, प्राकृतिक सम्पदा र मौलिक संस्कृतिको अनुपम भण्डार हो । तर यसको वास्तविक महत्त्व र सम्भावनालाई राष्ट्रिय विकासको मूल प्रवाहमा स्थापित गर्न अझै धेरै प्रयास आवश्यक छ । कवि धितालले आफ्ना रचनामार्फत कर्णालीको प्राकृतिक वैभव र त्यससँग जोडिएको मानवीय जीवनलाई उजागर गर्नुभएको छ । विशेषगरी खस भाषा, खस सभ्यता र नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानबीचको सम्बन्धलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने उहाँको प्रयास उल्लेखनीय देखिन्छ ।
कुनै पनि भूगोलको पहिचान त्यहाँका पहाड, नदी र वनजङ्गलले मात्र निर्माण गर्दैनन्; त्यहाँ बोलिने भाषा, गाइने गीत, सुनाइने लोककथा, मनाइने पर्व र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनदर्शनले त्यसलाई जीवन्त बनाउँछन् । यही सांस्कृतिक चेतनालाई कविताको माध्यमबाट संरक्षण र प्रवर्द्धन गर्ने प्रयत्न ‘प्रिय कर्णाली’ मा प्रतिबिम्बित भएको छ ।
साहित्यको वास्तविक शक्ति मानिसको मन छुने र समाजलाई सोच्न बाध्य बनाउने क्षमतामा निहित हुन्छ । यस अर्थमा कवि धितालको सिर्जनायात्रा मनोरञ्जनका लागि शब्द संयोजन गर्ने यात्रामा मात्र सीमित छैन । उहाँका कविताले कर्णालीको पीडालाई राष्ट्रिय सरोकारसँग जोड्ने, ओझेलमा परेका इतिहासलाई उजागर गर्ने र स्थानीय पहिचानप्रति आत्मसम्मान जागृत गराउने उद्देश्य बोकेको देखिन्छ ।
‘प्रिय कर्णाली’ केवल कविताको सङ्ग्रह मात्र नभई कर्णालीको माटो, मानिस, भाषा, संस्कृति, इतिहास र समयको साक्षी बनेर उभिने साहित्यिक दस्तावेजका रूपमा समेत महत्त्वपूर्ण रहेको छ । यसले कर्णालीलाई अभाव र विकटताको परिचयमा मात्र सीमित नराखी ज्ञान, सभ्यता, सम्भावना र मौलिक पहिचानको केन्द्रका रूपमा बुझ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
कवि राजेन्द्र धितालको साहित्यिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा थपिएको यस कृतिले कर्णालीको आवाजलाई राष्ट्रिय साहित्यिक वृत्तसम्म पुर्याउन योगदान दिने विश्वास गरिएको छ । आफ्नै माटोको सुगन्ध, पुर्खाको इतिहास, वर्तमान पुस्ताको पीडा र भविष्यप्रतिको आशालाई शब्दमा उन्ने कवि धितालको यो सिर्जना कर्णालीलाई माया गर्ने सबैका लागि आत्मीय साहित्यिक उपहार बनेको छ ।
´इतिहास बिर्सिएको समाजले आफ्नो पहिचान गुमाउन सक्छ । तर इतिहासलाई शब्दमा सुरक्षित गर्ने साहित्यले पुस्तौँसम्म सभ्यता र स्मृतिलाई जीवित राख्छ । ‘प्रिय कर्णाली’ ले यही स्मृति, पहिचान र आत्मीयतालाई कविताको माध्यमबाट जीवन्त बनाउने सार्थक प्रयत्न गरेको छ।`


