सबिता चन्द
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला समितिले १५ दिने ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’ को समीक्षा बैठक गरिरहेको छ । जिल्ला समितिको आयोजनामा बाँकेको रझेनास्थित मिनिपार्क रिसोर्टमा जारी समीक्षा बैठकमा अभियानका क्रममा भएका संगठनात्मक गतिविधि, जनसम्पर्क विस्तार, जनतासँगको सम्बन्ध तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा समीक्षा भइरहेको छ।
जिल्ला संयोजक दीपक जीएमको संयोजकत्वमा भइरहेको समीक्षा बैठकलाई केवल अभियानको औपचारिक समापनका रूपमा नभई संगठनको अवस्था पहिचान, कमजोरीको आत्मसमीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
१५ दिनसम्म जिल्लाका विभिन्न क्षेत्र, पालिका, वडा तथा समुदायमा केन्द्रित भएर सञ्चालन गरिएको अभियानले पार्टी संगठनलाई जनताको तहसम्म पुर्याउने, स्थानीय समस्या र जनअपेक्षा बुझ्ने तथा संगठनका गतिविधिलाई थप गतिशील बनाउने उद्देश्य राखेको थियो । जिल्लाका सबै पार्टी वडा अध्यक्षको वडागत प्रतिवेदन पेस गर्ने र सो अनुसार पार्टीलाई सुदृढीकरण गर्ने बताइएको छ ।
समीक्षा बैठकमा अभियानका क्रममा देखिएका संगठनात्मक सबलता र कमजोरी, जनतासँगको सम्बन्ध, कार्यकर्ताको परिचालन, संगठन विस्तारको अवस्था तथा आगामी दिनमा पार्टीलाई थप प्रभावकारी र जनमुखी बनाउने उपाय माथि गम्भीर छलफल भइरहेको छ।
पार्टी संगठनको बल केवल संरचना र संख्यामा नभई जनतासँगको सम्बन्ध, जनजीविकाका सवालमा निरन्तर उपस्थिति र कार्यकर्ताको सक्रियतामा निर्भर रहने भएकाले १५ दिने अभियानबाट प्राप्त अनुभवलाई आगामी कार्यदिशासँग जोडेर लैजानुपर्नेमा बैठकले जोड दिने अपेक्षा गरिएको छ।
विशेषगरी पछिल्लो राजनीतिक परिवेशमा दल तथा संगठनप्रति जनताको अपेक्षा बढिरहेको अवस्थामा जनताका दैनिक समस्या, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, सामाजिक न्याय र स्थानीय विकासका सवालमा पार्टीको भूमिका थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि बैठकको महत्वपूर्ण एजेन्डा बनेको छ।
समीक्षा बैठकले अभियानका क्रममा प्राप्त अनुभवलाई संस्थागत गर्दै जहाँ संगठन कमजोर छ, त्यहाँ संगठन विस्तार गर्ने, निष्क्रिय संरचनालाई चलायमान बनाउने, जनतासँगको प्रत्यक्ष सम्बन्धलाई निरन्तरता दिने र पार्टी गतिविधिलाई परिणाममुखी बनाउने आगामी रणनीति तय गर्नेछ।
यसैबीच, जिल्ला नेतृत्वले अभियानलाई एकपटकको कार्यक्रमका रूपमा सीमित नगरी त्यसबाट प्राप्त जनसम्पर्क र संगठनात्मक ऊर्जालाई निरन्तर अभियानमा रूपान्तरण गर्नुपर्ने धारणा अघि सारेको छ । जनताबीच पुग्ने, जनताको कुरा सुन्ने र उठेका सवालमा राजनीतिक तथा सामाजिक रूपमा हस्तक्षेप गर्ने कार्यलाई संगठन निर्माणको आधार बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
जिल्ला संयोजक जीएमको संयोजकत्वमा भइरहेको समीक्षा बैठकले १५ दिने अभियानको वास्तविक उपलब्धि कति भयो भन्ने मात्र होइन, अब पार्टी संगठनलाई कुन दिशामा अघि बढाउने भन्ने प्रश्नको समेत जवाफ खोज्ने अपेक्षा गरिएको छ। यस अर्थमा बैठकलाई बाँकेमा नेपाली कम्युनिष्ट पार्टीको आगामी संगठनात्मक र जनसम्पर्क रणनीतिको आधार तय गर्ने महत्वपूर्ण राजनीतिक मञ्चका रूपमा हेरिएको छ । बैठकमा बाँके जिल्लामा उपलब्ध स्थायी समिति सदस्य, केन्द्रीय, प्रदेश समिति पदाधिकारी , सदस्य लगायत जिल्ला देखि वडा स्तरसम्मका नेताको उपस्थिति रहेको छ ।



