नक्कली निर्णयको आरोपदेखि न्यायको लडाइँसम्म: अम्बिका काफ्ले प्रकरणले लुम्बिनी प्रदेशको लोकतन्त्रलाई सोधेको गम्भीर प्रश्न

  ।   २०८३ भाद्र २५, बिहीबार १७:१०

सबिता चन्द
नेपालगन्ज । लुम्बिनी प्रदेशको राजनीतिमा यतिबेला एउटा यस्तो घटनाले ठूलो तरंग पैदा गरेको छ, जसले केवल एक सांसदको पदको प्रश्न मात्र उठाएको छैन, लोकतन्त्र, संविधान, विधिको शासन र राजनीतिक नैतिकतामाथि पनि गम्भीर बहस सुरु गराएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेमाथि प्रदेश सभा सचिवालयले दल त्याग गरेको सूचना प्रकाशित गरेपछि सुरु भएको विवादले अहिले नयाँ मोड लिएको छ । किनभने जसपा नेपालको केन्द्रीय समितिले सार्वजनिक रूपमा त्यो निर्णयलाई नै नक्कली, कृते, अवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको घोषणा गरेको छ।

एउटै घटनामा दुई फरक आधिकारिक दाबी सार्वजनिक भएपछि जनतामाझ स्वाभाविक प्रश्न उठेको छ, साँचो निर्णय कुन हो ? प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचना वैधानिक हो कि पार्टीको केन्द्रीय समितिको भनाइ सही हो ? यही प्रश्नको उत्तर खोज्ने क्रममा यो प्रकरण अब कानुनी र संवैधानिक बहसको विषय बनेको छ ।

घटनाको सुरुवात भदौ २४ गते लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेको सूचना पत्रबाट भयो । सचिवालयले जसपा नेपालको संसदीय दलबाट प्राप्त पत्रका आधारमा अम्बिका काफ्लेले दल त्याग गरेको जानकारी सार्वजनिक गर्‍यो । सूचनामा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार उहाँलाई प्रदेश सभा सदस्य पदबाट हटाइएको उल्लेख गरिएको थियो । तर त्यसको केही समयमै जसपा नेपालको केन्द्रीय कार्यालयबाट महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको प्रेस विज्ञप्तिले सचिवालयको सूचनालाई पूर्ण रूपमा अस्वीकार गर्‍यो ।

पार्टीको दाबी अनुसार प्रदेश सभा सचिवालयमा पेश गरिएको पत्र पार्टीको आधिकारिक निर्णय होइन । विज्ञप्तिमा सह–महासचिव अजय झाको नाम, हस्ताक्षर, लेटरप्याड र छापसमेत नक्कली प्रयोग गरिएको आरोप लगाइएको छ । अझ गम्भीर कुरा, अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा उहाँको नामबाट पत्र तयार पारेर प्रदेश सभा सचिवालयमा प्रयोग गरिएको दाबी गरिएको छ । यदि यो आरोप सत्य सावित भयो भने यो एउटा सांसदमाथिको कारबाही मात्र होइन, सरकारी निकायलाई झुटा कागजातका आधारमा प्रयोग गरिएको अत्यन्त गम्भीर अपराध ठहरिन सक्छ ।

जसपा नेपालले आफ्नो विज्ञप्तिमा अर्को महत्वपूर्ण तथ्य पनि सार्वजनिक गरेको छ । पार्टीका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा विश्वासको मत दिन पार्टीले स्पष्ट ह्वीप जारी गरेको थियो । उक्त ह्वीप उल्लंघन गर्ने केही प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधिएको, जवाफ चित्तबुझ्दो नआएपछि केन्द्रीय कार्यकारिणी समितिले उनीहरूमाथि कारबाही गरेको दाबी गरिएको छ । तर अम्बिका काफ्लेको विषयमा प्रदेश सभा सचिवालयले प्रयोग गरेको पत्र भने पार्टीको आधिकारिक निर्णय नभएको स्पष्ट गरिएको छ । यही कारण पार्टीले सचिवालयलाई तत्काल सूचना सच्याउन माग गरेको छ ।

यो घटनाले प्रदेश सभा सचिवालयको भूमिकामाथि पनि प्रश्न उठाएको छ । कुनै सांसदलाई पदमुक्त गर्ने जस्तो संवेदनशील निर्णय गर्दा प्राप्त कागजातको वैधानिकता, हस्ताक्षरको सत्यता र निर्णयको आधिकारिकता परीक्षण गर्नु सचिवालयको जिम्मेवारी हो । यदि परीक्षणबिनै सूचना सार्वजनिक गरिएको हो भने त्यो प्रशासनिक कमजोरी मात्र होइन, संवैधानिक प्रक्रियामाथिको लापरबाही पनि हुन सक्छ । त्यसैले सचिवालयले कुन आधारमा निर्णय गर्‍यो भन्ने विषयमा पारदर्शी जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

लोकतन्त्रमा दलको अनुशासन महत्वपूर्ण हुन्छ, तर अनुशासनको नाममा अवैधानिक प्रक्रिया स्वीकार्य हुँदैन भन्दै दलका नेताहरूको दावी छ । कुनै पनि सांसदलाई हटाउने अधिकार कानुनले दिएको भए पनि त्यो अधिकार कानुनी प्रक्रिया, प्रमाण र पारदर्शिताबाट मात्रै प्रयोग हुनुपर्छ । विधिको शासनभन्दा माथि कुनै दल, नेता वा संस्था हुन सक्दैन । यही कारण अम्बिका काफ्ले प्रकरणले लोकतन्त्रको मूल मर्मलाई नै परीक्षा दिएको छ भन्दै दलको केन्द्रीय सचिवालयले जनाएको छ ।

राजनीतिक वृत्तमा यस घटनालाई दुई कोणबाट हेरिएको छ । एउटा पक्षले पार्टीको निर्णय उल्लंघन गर्ने सांसदमाथि कारबाही स्वाभाविक भएको बताइरहेको छ । अर्को पक्षले भने यो सम्पूर्ण प्रक्रिया राजनीतिक प्रतिशोधको उपज भएको आरोप लगाइरहेको छ । यदि प्रतिशोधका लागि नक्कली कागजात प्रयोग गरिएको हो भने त्यो लोकतान्त्रिक संस्कृतिमाथिको गम्भीर आक्रमण हुनेछ देखिन्छ ।

अब यो विवाद निर्वाचन आयोग, अदालत र अनुसन्धान निकायसम्म पुग्ने संकेत देखिएको छ । जसपा नेपालले आवश्यक कानुनी उपचार खोज्ने घोषणा गरिसकेको छ । यसले आगामी दिनमा किर्ते कागजात, सरकारी निर्णयको वैधानिकता र प्रदेश सभा सचिवालयको भूमिकामाथि विस्तृत कानुनी परीक्षण हुने सम्भावना बढेको छ ।

अन्ततः अम्बिका काफ्ले प्रकरणले एउटा गहिरो सन्देश दिएको छ, लोकतन्त्रको वास्तविक शक्ति बहुमतमा होइन, सत्य, न्याय, पारदर्शिता र संविधानसम्मत प्रक्रियामा हुन्छ । यदि कुनै निर्णय नक्कली कागजातका आधारमा गरिएको हो भने त्यसको जिम्मेवारी निर्धारण हुनैपर्छ । र यदि निर्णय वैधानिक हो भने त्यसको प्रमाण पनि सार्वजनिक हुनुपर्छ । सत्य जे भए पनि, लोकतन्त्रलाई जोगाउने बाटो निष्पक्ष अनुसन्धान, कानुनी प्रक्रिया र न्यायपूर्ण निर्णयबाट मात्रै सम्भव छ ।

Next Post

Casino Fairness Audits Explained

२०८३ भाद्र २५, बिहीबार १७:१०
Internet casinos use the word “fairness” a lot. But what does it actually mean when you log in to FlutterHall Casino? Fairness checks are the operational and compliance processes that guarantee games produce fair and unpredictable outcomes, that operator terms stay clear, and that payouts get processed correctly. This piece […]