पहिलो पटक देशभर भ्यागुताको अध्ययन गरिने

  • Goodnews Khabar
  • १३८
  • शनिबार, २४ जेठ २०७७
पहिलो पटक देशभर भ्यागुताको अध्ययन गरिने

काठमाडौँ । गत वर्ष उपत्यकामा मात्रै सीमित भएको भ्यागुता अध्ययन अभियान यस वर्ष देशव्यापी रुपमा अध्ययन गर्न लागिएको छ । नेपालमा एकैपटक देशव्यापी रुपमा भ्यागुताको अध्ययन यसअघि भएको छैन ।

नागरिक वैज्ञानिक अवधारणामा आधरित भएर ुविश्‍व वातावरण दिवसुको अवसर पारेर शुक्रबार क्यारोन नेपाल, इन्प्रोक्स र डब्लूसीएनको संयुक्त पहलमा अनलाइन प्लेटफर्म मार्फत ‘क्रोकिङ मनसुन २०२०’ सुरु गरिएको हो ।

नागरिक वैज्ञानिक अवधारणा अन्तर्गत यसवर्ष भ्यागुतासम्बन्धी जनचेतना फैलाउने, अनुसन्धान गर्ने, प्रजाति पहिचान गर्ने जस्ता अन्य कार्यहरु गरिने छ । मनसुनभर चल्ने यो अभियानमा विभिन्न विश्वविद्यालय तथा संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति, विद्यार्थी,अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रकृतिमा अभिरुचि राख्‍ने जोसुकै जोडिन सक्‍नेछन् ।

गत वर्षको अभियानमा उपत्यकामा खस्रे भ्यागुताका दुई प्रजातिसहित सात प्रजातिका भ्यागुताको अभिलेख गरिएको थियो । गत वर्षको अनुसन्धानले उपत्यकामा अन्य प्रजातिका भ्यागुताहरु भेटिने आधारहरु पनि भएको इन्प्रोक्सका सचिव चन्द्रमणि अर्यालले बताए । गत वर्षको अभियानमा २ सय ५ वटा भ्यागुताका तस्बिरसहित ८० जनाको सहभागिता थियो ।

यस वर्ष पूर्व झापादेखि पश्चिम कैलालीसम्मका युवा वैज्ञानिकहरुले अभियानमा जोडिएका छन् । क्यारोनका संस्थापक एवं उभयचरका अध्येता प्रकाशचन्द्र अर्यालले भ्यागुताको निरन्तर अध्ययनबाट आउने निष्कर्षलाई नीति निर्माण तहका मानिसहरुलाई पुर्‍याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

भ्यागुता जस्ता उभयचर जीवहरुको संख्या घट्दा मानिसको दैनिक जीवनमा असर गर्नु साथै लामखुट्टेलगायतका किराहरु बढ्ने सक्ने भएकाले पनि भ्यागुताको अनुसन्धान तथा संरक्षण आवश्यक रहेको अर्यालले बताए । उनका अनुसार भ्यागुताले लामखुट्टेलगायत अन्य किटरकिराहरु खाइदिएर मानव तथा बालिमा लाग्ने रोगहरु नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्छ । पारिस्थितकीय प्रणालीमा भ्यागुतालगायतका जीवहरुले खाद्य चक्रमा महत्वपूर्ण योगदान गर्छन् ।

नागरिक वैज्ञानिक अवधारणाले मानिसहरुलाई संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै तथ्यांक निर्माणमा यो अभियानले सहयोग पुर्‍याउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

नेपालमा हालसम्म ५७ प्रजातिका उभयचर९जमिन र पानी दुवैमा बस्ने जीव०हरु पाइन्छन् । एम्फिबिया वेबका अनुसार नेपालमा ५४ प्रजातिका भ्यागुताहरु पाइन्छन् ।

कसरी गरिन्छ अध्ययन ?

यो अभियानअन्‍तर्गत मोबाइल तथा क्यामेराबाट भ्यागुताको तस्बिर खिचेर अभियानमा उपलब्ध गराइएको अनलाइन प्लेटफर्म मार्फत् फोटो फोटो अपलोड गरिन्छ । उक्त भ्यागुता पाइएको स्थान, अवस्था, अवस्थितिसहितका विविध जानकारी अभियानमा संलग्‍नहरुले पठाउनेछन् । प्राप्त फोटो केन्द्रीय पोर्टलमा संकलन हुन्छ । त्यसपछि फोटो र त्यससम्बन्धी पठाइएको विवरणलाई संश्लेषण गर्ने काम हुन्छ ।

अध्येता अर्यालका अनुसार संकलित फोटो डाउनलोड गरेपछि उक्त प्रजातिको पहिचान गर्ने, बासस्थान थाहा पाउने, भौगोलिक अवस्था, भू-बनोटसहितको जानकारीको विश्लेषण गरेर रिपोर्ट तयार गरेर सार्वजनिक गरिन्छ । भ्यागुताको प्रजातिको संख्या गणना गर्न नसकिने भएकाले वर्षौंसम्मको अध्ययनले कुन प्रजाति कहाँ पाइने र तुलनात्मक अध्ययन गर्न सकिने अनुसन्धानकर्मीहरुको भनाइ छ ।

यसबाट वातावरणीय प्रभावका कारण प्रजातिको स्थिति र अवस्थितिहरु पनि अध्ययन गर्ने आधार तय हुने क्यारोनका संस्थाप समेत रहेका त्रिवि केन्द्रीय वातावरण विज्ञानका उपप्राध्यापक मनकुमार धमलाले बताउनुभयो । संरक्षणकर्मीहरुको प्राथमिकतामा पछाडि परिरहेको भ्यागुताको अभिलेखीकरण तथा अनुसन्धानमा यो अभियानले सहयोग गरेको उहाँको भनाइ छ । सबै आ-आफ्नो ठाउँबाट योगदान गरे मात्र भ्यागुताहरुको वास्तविक अवस्था थाहा हुने र संरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।

सन् २००४ पछाडि विश्वमा प्रत्येक वर्ष कम्तीमा सयवटा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ । पृथ्वीमा हालसम्म ८ हजार ७२ प्रजातिका उभयचर पाइएको छ । जसमध्ये ७ हजार १२२ प्रजातिका भ्यागुता पाइन्छन् । ती मध्ये नेपालमा ५३ प्रजातिको अभिलेख देखिन्छ ।

पारिस्थितकीय प्रणालीको सन्तुलन,वातवरणीय सन्तुलन,लामखुट्टे तथा किरा नियन्त्रण,पानी शुद्धीकरण,उत्पादकत्व बढाउनका लागि भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ । सफा पानीमा मात्र पाइने एमोलोप्स फर्मोसस् जस्ता भ्यागुताका प्रजातिलाई जैविक सूचकका रुपमा लिइने गरिन्छ ।

खानाका लागि पाहा प्रजातिको भ्यागुताको सिकार, कक्षा ११ मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भू–उपयोगमा आएको परिवर्तन्, पानीको प्रदूषण जस्ता अन्य मानवीय क्रियाकलापहरुले भ्यागुताको प्रजाति संकटमा पर्दै गइरहेका छन् । जलवायु परिवर्तनका कारण भ्यागुताको विशिष्ट किसिमको जीवनचक्रमा पनि असर पुर्‍याउने गरेको छ । ‘गोल्डेन टोड’ प्रजातिको भ्यागुता संसारबाटै लोप भएर जानुमा जलवायु परिवर्तनलाई पनि कारक मानिएको छ ।

नेपालमा कृषि क्षेत्रमा विषादीहरुको प्रयोगले स-साना जीवहरुमा नकारात्मक प्रभाव पर्दै गए पनि पर्याप्त अनुसन्धान नभएको विज्ञहरुले बताएका छन् । भ्यागुतासम्बन्धीको अनुसन्धान धेरै कम हुँदा यसका अन्य आयामहरु बारे बुझ्न कठिनाइ भइरहेको अनुसन्धानकर्मीहरुको बुझाइ छ । कान्तिपुर

कमेन्ट